राजधानी नभए पनि रुपन्देही विकासमा पछि पर्दैन : गृहमन्त्री खाँण
रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँणले राजधानी हुन नसके पनि रुपन्देहीलाई गौरव गर्न सक्ने जिल्ला बनाइने बताएका छन् ।
उनले राजधानीको विषय पुराना भएकाले त्यसमै अल्झिन नहुने बताउँदै रुपन्देही विकासमा पछि नपर्ने दावी गरे । रुपन्देहीको तिलोत्तमामा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै खाँणले भने, ‘राजधानी आयो फेरि फर्कियो । म यो भन्दिनँ, पुरानो भइसक्यो । राजधानी नभए पनि बुटवल बुटवल जस्तो र रुपन्देही रुपन्देही जस्तो होस् । त्यसका लागि भैरहवाको अन्तर्राष्ट्रिय एयरपोर्ट चाँडो सुचारु गर्न जरुरी छ ।’
खाँणले बुद्ध जन्मस्थल लुम्बिनी समेत यहीं रहेकाले रुपन्देहीको विकाससँग समग्र देशको विकास जोडिएको उल्लेख गरे । उनले गैरनाफामूलक संस्थालाई पनि जोगाउनुपर्ने बताए । खाँणले स्वास्थ्यमा सबैको पहुँच पुर्याउन सरकारले उच्च प्रविधिलाई पनि प्रयोग गर्नुपर्ने उल्लेख गरे ।
उनले गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित गौतमबुद्ध मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन आफूले सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । गौतमबुद्ध मुटु अस्पताल अहिले बुटवल रामनगरमा भाडाको भवनमा सञ्चालित छ । उसले तिलोत्तमा ६ मा जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।