महोत्तरीको गौशालामा मेयर र उपमेयरमै जसपा विजयी
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । आज सम्पन्न मतगणना परिणामअनुसार प्रमुखमा ८,७९९ मतका साथ डा. दीपेन्द्रकुमार सिंह र उपप्रमुखमा ८,४५५ मत प्राप्त गरी रेणुकुमारी महतो निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
प्रमुख र उपप्रमुख दुवै पदमा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका थिए । प्रमुखमा विष्णु योञ्जन लामाले ५,६२७ र उपप्रमुखमा जनकदुलारी साहले ५,४९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले पुष्टि गरे ।
गौशालासँगै अब परिणाम घोषणा भएका स्थानीयतहको संख्या जिल्लामा १३ पुगेको छ । जिल्लामा अब जलेश्वर र भङ्गाहा नगरपालिकाको मात्र परिणाम घोषणा हुन बाँकी रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचन भएपछि आज एक सातापछि गौशालाको परिणाम घोषणा भएको हो ।