चार दिनदेखि हराएकी बालिका मकैबारीमा मृत फेला
सुर्खेत । सुर्खेतमा घरबाट चार दिनदेखि हराइरहेकी एक बालिकाको मृत्त फेला परेकी छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा फेला परेको हो ।
शुक्रबादेखि हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ । बालिकाको शव मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहितको सुरक्षा निकायको टिम पनि घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भयरहेको प्रहरीको भनाइ छ । गुर्भाकोट नगरपालिका-५ का वडाध्यक्ष लालबहादुर पुनका अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् ।
बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उनका बुवा मजदुरीका लागि भारत गएका छन् । आमाको भने पहिले नै मैत्यु भइसकेको छ । २१ गते हजुरआमासँग धारापानी गएकी उनी घर फर्किने क्रममा बाटोबाटै हराएकी थिइन् । आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेका थिए ।