इङल्याण्ड युरो २०२२ को फाइनलमा


११ श्रावण २०७९, बुधबार
euro 1

सेफिल्ड । इङल्याण्डले मंगलबार स्विडेनलाई ४-० गोलअन्तरले पराजित गर्दै वुमेन्स युरो २०२२ को फाइनल यात्रा सुनिश्चित गरेको छ । योसँगै अब इङल्यान्डलाई वेम्बलीमा हुने फाइनलमा महिला फुटबल इतिहासकै पहिलो ठूलो उपाधि जित्ने अवसर प्राप्त भएको छ ।

घरेलु टिमका लागि बेथ मेड, लुसी ब्रोन्ज, एलेसा रुसो र फ्रान किरबाइले गोल गरे । अब आइतबार हुने फाइनलमा इङल्याण्डले दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । बुधबार हुने उक्त खेलमा जर्मनी र फ्रान्स भिड्दै छन् ।

लगातार तीन ठूलो प्रतियोगिताको सेमिफाइनलमा रोकिएको इङल्याण्डले यसपल्ट भने कुनै त्यस्तो समस्या सामना गर्नु परेन । ब्रामल लेनमा उपस्थित २९ हजार दर्शकसामु इङल्याण्डले शानदार जित निकाल्न सफल रह्यो ।

प्रशिक्षकमा सरिना वेगमन नियुक्त भएयता इङल्यान्ड अहिलेसम्म भएका १९ खेलमा अपराजित रहेको छ । स्विडेन भने सन् २०१९ यता पहिलो पटक ‘ओपन प्ले’ को खेलमा पराजित भएको छ । स्विडेन प्रतियोगितामा सहभागी टिममध्ये सबैभन्दा शीर्ष वरीयताको टिम हो । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७