तीजको आज पहिलो दिन : दर खाइँदै


१३ भाद्र २०७९, सोमबार
Teej 2075 pashupati
फाइल फोटो

काठमाडौं । आज (सोमबार) हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घर घरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व शुरु भएको छ ।

आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाइ भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् । महिलाहरुले तीजमा वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने गरेका छन् ।

गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गइ बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

पछिल्ला वर्षहरुमा तीजका नाममा तडक भडक बढेको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवम् पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवम् समाजशास्त्रीहरुले जोड दिएका छन् ।

आज दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । भोलि तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन पर्सी गणेश भगवानको पूजा र पञ्चमीका दिन १६ गते स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७