प्रधानमन्त्रीको प्रश्न : देशको दुर्गति हुनुमा राजनीतिक दल मात्र जिम्मेवार हुन् कि व्युरोक्रेसी पनि ?

‘कर्मचारीलाई तलब दिन पनि विदेशबाट माग्नु पर्ने बेला भइसक्यो’


२२ भाद्र २०७९, बुधबार
Deuwa 2 scaled

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोग विना देश अघि बढ्न नसक्ने बताएका छन् । आज बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोग विना देशको विकास हुन नसक्ने बताए । कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

उनले भने, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो ? किन काम भइरहेको छैन ? व्यापक छलफल गरौँ । हामी त पाँच वर्षका लागि हो । हार्ने जान्छ, जित्ने आउने हो । तपाईँहरू त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । एउटा बाटो बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन । बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार । देशभरको अवस्था त्यस्तै छ । पोलिसिले मात्रै केही हुनेवाला छैन, ब्युरोकेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन ।’

प्रधानमन्त्री देउवाले पालिका, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे । उनले कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए ।

अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताए । उनले थपे, ‘तपाईहरू नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्न सक्छ । पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीलाई तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो । काम हुनुपर्छ नि । देशको आम्दानी हुनुपर्छ नि । ब्युरोकेसीको सहयोग विना कुनै पनि देश अघि बढ्दैन । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्युरोकेसी हो नि । उसले गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ । कर्मचारीको सहयोग नभइकन देश अघि बढ्दैन । सबै जिम्मेवार हुनुपर्छ ।’

प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । उनले देश विकासका लागि काम गर्न कर्मचारीहरूलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७