गिनाब्रीको ह्याट्रिकमा बायर्नको जित


२३ कार्तिक २०७९, बुधबार
gnabry 20221109073843

बर्लिन । सर्ज जिनाब्रीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा मंगलबार राति वेर्डर ब्रिम्यानलाई ६–१ गोलको नतिजामा पराजित गरेको छ । बायर्नको एलियान्ज एरिनामा भएको खेलको छैटौं मिनेटमा जमल मुसियालले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

त्यसको चार मिनेट नबित्दै एन्थोनी जंगले गरेको गोलसँगै ब्रिम्यानले बराबरी गरेको थियो । जिनाब्रीले २२औं मिनेटमा गोल गर्दै पुनः बायर्नलाई २–१ को अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट नबित्दै लियोन गोरेट्जकाले गरेको गोलसँगै बायर्नले अग्रता ३–१ मा लम्ब्याएको थियो । जिनाब्रीले २८औं मिनेटमा भ्रमणकारी ब्रिम्यानमाथि हाबी बनेको बायर्नका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

त्यसपछि केही बेर सम्हालिएको ब्रिम्यानले निर्धारित समयको अन्तिम १० मिनेटमा थप दुई गोल खायो । ८२औं मिनेटमा जिनाब्रीले ह्याट्रिक गर्दै अग्रता ५–१ मा पुर्याएका थिए । त्यसको दुई मिनेट नबित्दै म्याथिज टेलले बायर्नका लागि छैटौं गोल गरे ।
जितसँगै १४ खेलबाट ३१ अंक जोडेको बायर्न लिग तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको एससी फ्राइबर्गको १३ खेलबाट २७ अंक छ । पराजित ब्रिम्यान १४ खेलबाट २१ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७