धान बिक्री नहुँदा किसान मर्कामा


१५ मंसिर २०७९, बिहीबार
dhan

बाँके । बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरे पनि यस पटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन् ।

सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य रु दुई हजार नौ सय ६७ तोकेको छ । तर कम्पनीले धान खरिद नगर्दा किसानले व्यापारीलाई रु दुई हजार चार सय चारमा बिक्री गरिरहेको डुडुवा कम्दीका किसान हरिराम यादव बताए । रकम अभावका कारण सस्तोमा धान बिक्री गर्नुपरेको उनको भनाइ छ ।

खजुरा–३ का किसान रमेश थापा पनि हिउँदे बाली गहुँ लगाउने बेला भएकाले बीउ र मलखाद खरिद गर्न पैसा नहुँदा बाध्य भएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको बताउँछन् । सरकारले तोकेभन्दा प्रतिक्विन्टल रु पाँच सय कममा व्यापारीले धान खरिद गरिरहेको उनको भनाइ छ ।

नेपालगञ्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रतिक्विन्टल रु दुई हजार ४०० भन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा बिक्री गरिरहेका छन् ।

उक्त कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकाले धान खरिद नभएको बताए । धान खरिदका लागि छलफल चलिरहेको भन्दै उनले प्रधान कार्यालयबाट अनुमति पाएपछि खरिद सुरु गरिने बताए । यस वर्ष बाँकेमा एक लाख ४९ हजार १०२ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७