बुबा–आमा नर्स बनाउन चाहन्थे तर, भोजकुमारी बनिन् चारतारे होटलको ‘हेड सेफ’


२९ मंसिर २०७९, बिहीबार
sef

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफ्सको रूपमा नेतृत्व गरिरहेकी छिन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित भेटघाट चोकमा जन्मिएकी कार्यकारी सेफ भोजकुमारी शाहले पछिल्लो एक महिनादेखि ठमेलस्थित अमेरिकी चेन होटल रमदा ईन्कोर काठमाडौंको किचनको नेतृत्व सम्हालिरहेकी हुन् । उनी रमदाको कन्टिनेन्टल सेफ हुन् ।

विसं २०४३ मा बुबा विश्वनाथ शाह र आमा शान्तिदेवी शाहको ज्येष्ठ सुपुत्रीका रूपमा जन्मिएकी शाहले स्कूल शिक्षा सुनसरीस्थित पाथिभरा इङ्लिस बोर्डिङ स्कूलबाट पूरा गरिन् । आफ्नो परिवार व्यापार–व्यवसायमा आबद्ध भए पनि उनी भने सेफ पेशामा आबद्ध भइन् ।

गुड सेफर्ड इन्स्टिच्यूट अफ हस्पिटालिटी म्यानेजमेन्ट कालिङपोङ दार्जिलिङबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा र इन्डियन स्कूल अफ बिजनेश म्यानेजमेन्ट कलेज जयपुरबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरेकी शाहले सन् २००६ देखि सेफ पेशा सुरु गरेकी हुन् ।

‘मलाई बुबाआमाले नर्स पढ्न आग्रह गर्नुभएको थियो, मलाई नर्स पढ्न मन नलागेर होटल म्यानेजमेन्ट पढेको हुँ, होटल म्यानेजमेन्ट पढ्न भने मलाई दाजुको साथ र सहयोग थियो,’ उनले भनिन् । आफूले पढ्ने बेलामा होटल म्यानेजमेन्ट पढ्ने महिलाको संख्या एकदमै कम भएको उनको भनाइ छ ।

शाहले सन् २००६ मा भारतको गोवास्थित द ललित होटलमा सेफ्ससम्बन्धी इन्टर्नसीप गरेकी हुन्। इन्टर्नसीपसँगै द पार्क होटल बिशाखापट्टनम भारत, नोभोटेल होटल हैदराबाद भारत, अमनबाग होटल जयपुर भारत, द लोधी होटल नयाँदिल्ली भारत, जानुमा प्यालेस भोपाल भारत, अलनादा रिजर्ट एण्ड स्पा ओमान, सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा काम गरेको अनुभव उनीसँग छ ।

सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा भने शाहले कार्यकारी सेफ्सको रूपमा नै काम गरेकी थिए । ‘अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्स मात्र हुन्छन्, म विगत १६ वर्षदेखि एक्लै किचनमा लडेर यो ठाउँमा आइपुगेको हुँ, म मेरो पेशा र कामप्रति पूर्ण सन्तुष्ट छु, मलाई समाजमा कार्यकारी सेफ्स हुँ भन्दा गर्वको अनुभूति हुन्छ,’ उनले भनिन् ।

कोरोनाको समयसँगै काठमाडौं महानगरपालिका–१६ ठमेलमा दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना भएको रमदामा हाल ९० कोठा रहेका छन् । नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुई वटा कन्फरेन्स हल छन् ।

होटलका महाप्रबन्धक महेश फुँयाल रमदा होटलले दुईवटा रेष्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खाने कुरा प्रदान गर्दै आएको बताउँछन् । ‘एउटा रेष्टुराँमार्फत स्पेनिस, अरेबिक, टर्किस, मोरक्कन र अर्को रेष्टुराँमार्फत पानेसियन र इण्डियनलगायतका खाना प्रदान गर्दै आएका छौँ,’ उनी भन्छन् ।

नेपाली सेफ्सहरुको छाता संस्था सेफ्स एसोसिएसन अफ नेपालमा हाल एक हजार पाँच सय सेफ्स आबद्ध छन् । विसं २०५३ मा स्थापना भएको एसोसिएसनले नेपाली सेफ्सको हक, हित र अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

एसोसिएसनका अध्यक्ष श्यामबहादुर लामा सेफ्समा आबद्ध एक हजार पाँच सय सेफ्समध्ये जम्मा १५ जनामात्र महिला सेफ्स आबद्ध भएको बताउँछन् । महिला सेफ्स एसोसिएसनमा आबद्ध कुल सेफ्स सङ्ख्याको एक प्रतिशत मात्र हो । ‘एसोसिएसनमा आबद्ध महिला सेफ्स नेपाली रेष्टुरेन्ट र तारे होटलको सुसेफका रूपमा काम गर्ने गरेका छन्, कार्यकारी सेफ्स अहिलेसम्म कोही महिला सेफ्स भएका छैनन्,’ उनी भन्छन् ।

ग्लोबल नेप्लीज सेफ्स फेडेरेशनका अध्यक्ष एवं वरिष्ठ सेफ्स लक्ष्मण प्रसाद भण्डारी पछिल्लो समय नेपाली महिला सेफ्स नेपाली तारे होटलको कार्यकारी पदमा आउनु नेपाली सेफ्सका लागि गर्वको कुरा भएको बताउँछन् । आगामी दिनमा महिलालाई सेफ्समा अगाडि बढाउन सेफ्ससम्बन्धी संस्थाले काम गर्नुपर्ने उनको भनाइ छ ।

होटल एसोसिएसन अफ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत टेक महत नेपाली तारे होटलमा नेपाली महिला सेफ्सको संख्या एकदमै न्यून रहेको बताउँछन् । ‘नेपाली होटलमा विदेशी महिला सेफ्सले काम गरे पनि नेपाली महिला भने कार्यकारी सेफ्स बनेको पाइँदैन,’ उनले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७