सांसद मन्त्री हुने व्यवस्था हटाउनु पर्छ : वामदेव गौतम


२२ पुष २०७९, शुक्रबार
Bamdev Gautam

काठमाडौँ । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले भ्रष्टाचार नियन्त्रणका लागि संसद्बाट मन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका छन् । अहिलेको शासन प्रणाली नै भ्रष्टाचारको प्रमुख स्रोत भएको भन्दै गौतमले भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीमा जानुपर्ने बताए ।

‘हाम्रो शासन प्रणाली गलत छ । संसद्बाट मन्त्री छान्ने व्यवस्था रहुन्जेल भ्रष्टाचार नियन्त्रण हुन्न झन ध्वस्त हुन्छ,’ गौतमले भने ‘त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था होस् र संसद्बाट मन्त्री हुने व्यवस्थाको अन्त्य होस् ।’

उनका अनुसार अहिले शासन प्रणालीले निर्वाचित गर्नका लागि धेरै पैसा खर्च गराउँछ । जसले जानेको र सुधार गर्न चाहान्छ त्यसलाई अनेकथरी गरेर हराइन्छ । कार्यक्रममा उनले बाउबाजेको पुरानो प्रणाली भनेर अहिलेको पक्षमा नलाग्न सुझाव दिए ।
‘हाम्रो प्रमुख स्रोत भूमि हो त्यसैलै भूमिमाथि व्यक्तिको स्वामित्व रहने व्यवस्था अन्त्य गरिनुपर्छ । व्यक्ति, समूह र कम्पनीले कुनै उत्पादनको काम गर्नुपर्‍यो भने लीजमा जग्गा लिनुपर्छ,’ गौतमले भने ।

यस क्रममा उनले भ्रष्टाचारले देशलाई बर्बाद पारेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘भ्रष्टाचार गर्नेले देशलाई बर्बाद गर्छन्, समाजलाई बर्बाद गर्छन् र परिवारलाई बर्बाद गर्छन् । भ्रष्टाचारको जड शासन प्रणालीमै छ,’ उनले भने ।

तर निरंकुश शासन हुँदैमा भ्रष्टाचार नियन्त्रण नहुने पनि उनको भनाइ थियो । ‘चीनले भ्रष्टाचार हुनै नदिने नीति अख्तियार गरेको छ । तर प्रत्येक वर्ष १० देखि १५ हजार व्यक्तिलाई भ्रष्टाचारको अभियोगमा मृत्युदण्ड दिइरहेको छ,’ उनले भने ‘निरंकुश शासन ल्याएर भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा गलत हो । एकै व्यक्तिले नियन्त्रण गर्न सक्दैन । जनतामा भ्रष्टचार विरोधीमा भावना, संस्कृति विकास गरिनु पर्छ । त्यसैअनुसारको प्रणाली र विधिसम्मत रुपमा तत्कालै कारबाही गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७