गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दामा आज सुनुवाइ


१३ माघ २०७९, शुक्रबार
Rabi lamichhane 4
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुने भएको छ ।

यसअघि ११ माघ बुधबार सर्वोच्चको संवैधानिक इजलासले बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका थिए । रिट निवेदक पक्षको बहस भने सकिएको थियो । रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका थिए ।

रिट निवेदक पक्षका वकिलले लामिछानेले नेपाली नागरिकताका लागि प्रक्रिया नपुर्‍याएको भन्दै उनी नेपाली नागरिक नभएको जिकिर गरेका थिए । आज दुवैतर्फका वकिलहरूका बहस सकिएपछि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्चले निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

अमेरिकाको नागरिकता लिएपछि निष्क्रिय भइसकेको लामिछानेको नागरिकतालाई पुनः पक्रिया नपु¥याइ प्रयोग गरेको भन्दै अदालतमा मुद्दा दर्ता भएको थियो । रिट निवेदकका ५ वकिलले २३ पृष्ठको सामूहिक बहसनोट पनि इजलासमा बुझाएका छन्। बहसनोटमा रवि नेपाली भए पनि नेपाली नागरिक नभएको जिकिर गरिएको छ। गैरनागरिकले नागरिकलाई शासन गर्न नमिल्ने वकिलहरुको जोड छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, विष्णु लुइँटेल, अधिवक्ताहरु रमन कर्ण, समृत खरेल र निकिता ढुंगानाले सामूहिक रुपमा बहसनोट बुझाएका हुन् । उनीहरुले रवि नेपाली मूलका विदेशी भएको बताएका छन् । यस्तै रविले फौजदारी कसुर गरेको भन्दै उनीमाथि तत्काल निष्पक्ष छानबिनको समेत माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७