मोदी आउने बेला यसरी गरे अत्याचार, पानीट्याङ्कीमा रोकियो चिया बोकेका ११ ट्रक
काठमाडौं, २७ बैसाख । नेपालको राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरन्द्र मोदी
आउने तयारी भइरहेका बेला भारतले नेपाली कृषि उत्पादन निकासीमा अवरोध खडा गरेको छ ।
भारतीय अवरोधका कारण पूर्वी नाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चिया निर्यात रोकिएको छ । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्याङ्कीमा रोकिएको चिया विस्तार योजना, फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार गुणस्तर नेपालबाट तयारी चिया कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ मा नमूना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ ।
पानीट्याङ्गी भन्सारमा रोकिएको ट्रकमा १७ हजार किलोभन्दा बढी तयारी चिया रहेको व्यवसायी रोशन अग्रवालले जानकारी दिएका छन् । ‘चिया बोकेको ट्रक वर्षाका बेला खुला ठाउँमा राख्दा चियाको गुणस्तर बिग्रिन्छ’, उनले भने, ‘निर्यात रोकिँदा ठूलो नोक्सान हुन सक्छ ।’ एक पटक चियाको नमूना परीक्षण गराउँदा भारु २५ हजार खर्च लाग्ने गरेको छ । भारत निर्यात हुने चिया मात्रै होइन, तेस्रो देश निकासीका लागि भारतीय भन्सार पुगेका चियाका ट्रक पनि रोकिएका छन् ।