सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, कांग्रेस र राजपा विपक्षमा
काठमाडौं, १३ जेठ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभा त्यो प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो । सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो । त्यसमध्ये कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टी, नेपालका अनिलकुमार झाले भने संशोधन प्रस्ताव फिर्ता लिन मान्नु भएन । गएको जेठ ७ गते संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कार्यक्रमविनाको नीति आएको भन्दै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेको थियो भने सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्ने प्रतिवद्धता नआएको भन्दै असन्तुष्टि जनाएका थिए ।