विदेश भ्रमणमा गएका खानेपानी सचिवको सरुवा


५ असार २०७५, मंगलवार
kr bc 1

काठमाडौं, ५ असार । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बीसीलाई सरुवा गरेको छ । सरकारले उनलाई सरुवा गरेको कुरा थाहा नै नपाई उनी मंगलबार बिहानै मन्त्रालयको कार्यक्रममा भाग लिन किर्गिस्तानतर्फ प्रस्थान गरेका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले उनलाई खानेपानी मन्त्रालयबाट सरुवा गरेको छ । खानेपानी मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका गजेन्द्रकुमार ठाकुरलाई सरुवा ल्याइएको छ ।kr bc 1

सचिव बीसी खानेपानी मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गरी किर्गिस्तानतर्फ जाँदा उनी अर्कै मन्त्रालयमा सरुवा भइसकेका छन् । सचिव बीसीको विदेश भ्रमण स्वीकृत गरिसकेपछि उनलाई कार्यक्रममा भाग लिएर फर्किसकेपछिमात्र सरुवा गर्नुपर्नेमा जानु एक दिनअघि गरिएको छ ।

सचिव बीसी खानेपानी मन्त्रालयमा सरुवा भएको २ महिना मात्र भएको छ । यसअघि महेन्द्र यादव खानेपानी मन्त्री हुँदा पनि उनलाई सरुवा गरि ठाकुरलाई नै ल्याइएको थियो । केपी ओली सरकारमा खानेपानी मन्त्री भएपछि विना मगरले ठाकुरलाई विज्ञान प्रविधिमा सरुवा गरी बीसीलाई ल्याएकी थिइन् । मन्त्री मगरले २ महिनामै पुनः ठाकुरलाई नै ल्याएकी छिन् । सचिव बीसीले मन्त्रीको आर्थिक अनियमिततामा साथ नदिएपछि उनको सरुवा भएको स्रोतले बताएको छ ।

यद्यपि मन्त्रालयको बेबसाइटमा सचिव बीसीकै नाम छ । यसरी विदेश भ्रमणमा गएका सचिवलाई फर्किन समेत नदिई सरुवा गरेर प्रशासन क्षेत्रलाई अस्थिर बनाउने काम गरेको खानेपानी मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

सचिव ठाकुरले खानेपानी मन्त्रालयमा बुधबारै पदबहाली गर्दैछन् । बीसीको कुन मन्त्रालयमा सरुवा भएको हो भन्ने समेत जानकारी सार्वजनिक गरिएको छैन । सचिव बीसी ओली सरकार आएको १ महिनासम्म अतिरिक्त समूहमा बसेका थिए ।

यसअघि २०७४ कात्तिक २७ मा तत्कालीन वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीलाई जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष मुलुकहरुको बोन बैठकमा भाग लिइरहेका बेला उनलाई पशुपंक्षी विकास मन्त्रालयमा सरुवा गरेपछि उनी कार्यक्रममा भाग नलिई फर्किएका थिए ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष मुलुकहरुको बैठकमा भाग लिइरहेका वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीको सरुवाले नेपालको प्रतिनिधित्व प्रभावित बनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७