धादिङ–नुवाकोट समाज युकेको बार्षिक भेटघाट कार्यक्रम
लण्डन, २७ साउन । धादिङ र नुवाकोट जन्म भई बेलायतमा बसोबास गर्दै आएकाहरुको संस्था धादिङ–नुवाकोट समाज बेलायतले बार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
बेलायतको लण्डनस्थित साउथ ह्यारोमा धादिङ नुवाकोट समाजले विशेष भेटघाट कार्यक्रमको आयोजना गरेका हुन् । बिगत ११ बर्षदेखि क्रियाशिल यस संस्था केहि बर्षदेखि अत्यन्तै सक्रिय र सिर्जनशील रूपमा बेलायतमा अग्रणी सामाजिक संस्थामा लिइन्छ । यसको गत ३–४ बर्षको कार्यक्रमको फेहरिस्तले सो कुराको पुष्टि गर्छ ।
कार्यक्रममा धादिङ र नुवाकोटमा जन्म भई बेलायतलाई मुल कर्मथलो बनाएर बसोवास गर्नेहरुको ठूलो संख्यामा उपस्थिति थियो । भेटघाट कार्यक्रममा धादिङ नुवाकोट समाजका अध्यक्ष चोक तामाङले आफ्नो जन्मभूमिको सम्झाना र सम्मानका खातिर समाज गठन भएको र यसले धादिङ र नुवाकोटेहरुलाई भावनात्मक एकताको कसीमा ल्याएको बताए । समाजले मुलतः जन्मभूमिप्रति सदैव इमान्दार भएर सम्मान गर्ने काम गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि राजदूत डा. दुर्गाबहादुर सुवेदीले यस्ता कार्यक्रमहरुले आफू जन्मेको माटोलाई सदैव सम्झाउने र जिम्मेवारीबोध गराउने बताए । यसले आफू जन्मेको ठाउँलाई विर्सन नदिने र सधै उन्नतिको पथमा अगाडि डोर्याउने प्रेरणा दिने बताए । उनी अझै भाबुक हुंदै आफ्नो यो समाजको मौलिकता र क्रियाशिलता तथा भावनात्मक अपनत्वले ब्यस्त कार्यतालिकालाई थाँती राख्दै यहाँहरुको साथमा रहन आएको बताएका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता तथा एनआरएन आईसीसी सदस्य तथा समाजका सल्लाहकार रामशरण सिम्खडाले धादिङ नुवाकोट समाजले दुई जिल्ला भौगोलिक, राजनीतिक र सामाजिक बिबिधतालाई चिर्दै एक–अर्कालाई एकाकार गरेकाले यसको महत्व छुट्टै रहेको बताए । यस्तो प्रकारको संस्थाहरुले अखण्डतालाई विशेष ध्यान दिदै सामारिक महत्व समेत राख्ने बताए । उनले आफ्नै चीरपरिचित मौलिक शैलीमा घोड़ा र खसीको कथा सुनाउँदै सामाजिक अभियान बिना स्वार्थ आफ्नो मातृभूमिप्रतिको कर्तब्यबोधमा लाग्न समाजलाई अनुरोध गरे ।
कार्यक्रममा जोनमोर युनिभर्सिटीका एशोसियट डिन प्राडा पदम सिमखडा, पत्रकार महासंघ युके शाखाका बरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, मेन्दोमाया परिवारका अध्यक्ष हरिसिं वाइबा, मे (री) बिष्णु घले, तमुधी युके अध्यक्ष ज्ञाम गुरूङ्गले समाजको बिबिध आयामबारे प्रकाश पार्दै मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष दीपबहादुर तामाङ्गले गरेका थिए ।
उत्कृष्ट साँस्कृतिक कार्यक्रमको संयोजन र सञ्चालन अर्की उपाध्यक्ष देबीरानी गुरूङ्गले गरेकी थिइन् । जिल्लाको सामाजिक काममा सहयोग पुर्याएका बिभिन्न संघसंस्था तथा महानुभावहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा ४ सयको हाराहारीमा धादिङ–नुवाकोटबासीहरुको उपस्थिति थियो । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिक मिना लामा र नायिक छुल्ठिम गुरुङको प्रस्तुतीले सहभागीको मन जितेको थियो ।