चितवनका सुनिल खनाल अमेरिकाको योजना आयोगमा नियुक्त
काठमाडौं, ३ भदौं । २० वर्षअघि अमेरिका पुगेका नेपाली मुलका सुनिल खनाल वासिंटन स्टेटस्थित और्बनको योजना आयोगमा सदस्यमा नियुक्त भएका छन् ।
योजना आयोग सदस्य खनालले स्थानीय और्बनको विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्नुपर्ने छ । अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि योजना आयोग निकै महत्वपूर्ण मानिन्छ । ‘स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेवारी दिएको छ’, खनालले ‘आफ्नो क्षमताले भ्याएसम्म काम गरेर देखाउँछु ।’
७५ हजार जनसंख्या भएको और्बन सिटीका मेयर न्यान्सि बाकुसले गतएको हप्ता खनाललाई पदभार ग्रहण गराएकी छन् । और्बनमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै स्थानीय रोटरी क्लबमा सह–संयोजक रहेर काम गरिरहेका खनाललाई अबको दुई वर्ष अर्थात सन् २०१८ अगष्ट ६ देखि २०२० को डिसेम्बर २० सम्मको लागि नियुक्ति गरिएको हो ।
अमेरिकी राजनीतिमा प्रवेश गर्नेहरुका लागि यो राम्रो अवसर भएकोले आफू त्यसतर्फ आकर्षित हुँदै गउको उनले बताएका छन् । अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि शुरुमा निवेदन दिएर अन्तरवार्ता पास गर्नुुपर्ने र सो चरण पास गरेपछि स्थानीय जनतासँग विभिन्न चरण सार्वजनिक सुनुवाई पास भएपछि गरिने सिफारिसलाई आधार मानेर मेयरले नियुक्ति गर्ने गर्छन् । सुनिल खनाल सन् १९९८ मा चितवनबाट अमेरिका पुगेका हुन् ।