नागढुङ्गा-कलङ्की सडक खण्डलाई सुन्दर बनाइँदै, जग्गा बाँझो राखे कर
काठमाडौं, ६ भदौं । राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँ–बायाँ सुन्दर हुने भएको छ ।
चन्द्रागिरी नगरपालिकाले सोलार बत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाई सडक खण्डलाई आकर्षित गर्न लागेको हो । नगरप्रमुख घनश्याम गिरीले भने, ‘नगरपालिकाले सडकखण्डको दायाँ–बायाँ करीब एक हजार २०० सोलार बत्ती जडान, वृक्षरोपण एवं नगरबस सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यात्रु चढ्ने र ओर्लने स्थानमा विद्युतीय स्मार्ट प्रतिक्षालय हुने छ ।’
नगर प्रमुख गिरीले सडक विस्तार कार्य छिटो निर्माण सम्पन्न गर्न सरकारसँग आग्रह गरे । केन्द्रीय सरकारले आवश्यक बजेट र निर्माणको अख्तियारी दिएमा तीन महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्न नगरपालिका तयार रहेको जनाएको छ । नगरपालिकाले खानेपानी सरसफाइ, वातावरण तथा विपद् व्यवस्थापन, शहरी आवास तथा भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य तथा खेलकुद, सामाजिक सुरक्षा तथा विकास, पर्यटकीय पूर्वाधारको विकास, कृषि, वन, पशु, संस्थागत सुशासन तथा सेवा प्रवाह, सम्पदा संरक्षणलगायतका क्षेत्रलाई आफ्नो प्राथमिकताको क्षेत्र बनाएको छ ।
जमीन बाँझो राख्नेलाई कर लगाउने
एक वडा एक उद्यान, जमीन बाँझो राख्नेलाई कर लगाउने, नगर क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालन, एक घर दुई बिरुवा नीतिमा कडाइ, सामुदायिक अस्पताल निर्माण, नगरपालिकाभित्रका परम्परागत एवं जीवन्त बाजा, पर्व संरक्षण तथा प्रवद्र्धन गर्ने नीति पनि नगरपालिकाले लिएको छ ।
काठमाडौँको सबैभन्दा ठूलो नगरपालिकाका रुपमा रहेको सो नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क बनाएको छ । ती सेवामा नागरिकताको प्रमाणपत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाईं सराई दर्ता, सम्बन्धबिच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातोकार्ड प्राप्त भूकम्पपीडितका नक्शापास दस्तुर छुटसम्बन्धी सिफारिसलगायतका रहेका छन् ।
साविकका नयाँभञ्ज्याङ, बाडभञ्ज्याङ, पूरानो भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ, नैकाप गाविस समेटेर २०७१ मङ्सिर १६ गते सरकारले सो नगरपालिका घोषणा गरेको थियो । पछिल्लो जनगणनाअनुसार नगरपालिकाको जनसङ्ख्या ८६ हजार १९८ र घरधुरी संख््या २० हजार ५३२ रहेको छ ।