रिटायर्ड सशस्त्र प्रहरीको संगठनमा देखिएको विचित्र दृश्य : दुर्जकुमार राई सम्झाउँदै थिए, माधव थापा ‘लु, भयो–भयो’ भन्दै बाहिर


१७ आश्विन २०७५, बुधबार
ex apf org 1

काठमाडौं, १७ असोज । सात फिटे, अजंगको मान्छे सोमबार राति कड्किन थालेपछि एकछिन सन्नाटा छायो तर कुरा अझै मिलिसकेको छैन ।

सशस्त्र प्रहरीबाट अवकाश पाएका झण्डै दश हजार कर्मचारीको संगठनमा नेतृत्वको विषयलाई लिएर रिटायर्ड दुई वरिष्ठबीच तानातान चलिरहँदा यस्तो दृश्य देखिएको हो । पूर्वआइजिपी दुर्जकुमार राई सम्झाउँदै थिए, दुई हप्ते आइजिपी किशोर लामादेखि ‘आन्दोलन स्टार’ भनिने भूपू डिआइजी माधव थापासम्म ‘लु, भयो–भयो’ भन्दै बाहिर निस्किन थाले ।

अकुत सम्पत्तिसम्बन्धी मुद्दा खेपिरहेका भूपू आइजिपी बासुदेव वलीलाई दुई वर्षअगाडि अख्तियारले डाम्नासाथ १४ दिन फौज चलाएर बिदा भएका उपाध्यक्ष किशोर लामा निमित्त अध्यक्ष भएका थिए । २६ गते साधारणसभाबाट नयाँ नेतृत्व छान्नुपर्ने ।

त्यसका लागि सर्वसम्मत गरेर जाऔँ भन्दै हल्चोकस्थित संघको कार्यालयमा भूपूहरु भेला भए । तर, किशोर लामा ‘म छाड्दै छाड्दिनँ’ भन्ने, भूपू एआइजी ठाकुरमोहन श्रेष्ठ ‘सधैं तपाईंहरुलाई मात्रै, हामीलेचाहिँ योगदान दिन नपाउने ?’ भनेर टसमस नहुने  शुरु–शुरुमा त दुर्जकुमार राई किशोरलाई पनि सम्झाउँदै थिए, ‘निमित्त नै भए पनि अध्यक्ष भइसक्नुभयो । यसपालि ठाकुरमोहनलाई बनाइदिऊँ । दिएर सानो हुँइदैन । छाड्दिनुस् ’ दुर्जले भनेको किशोरले नमानेपछि ठाकुरमोहनलाई सम्झाए, ‘भैगो नि त, अहिले किशोरलाई गरौं, त्यसपछि तपाईं चलाउनु होला । म नेतृत्वमा आउने हैन क्यारे ! चुनाव गरे नेपाल प्रहरीमा जस्तो भाँडभैलो हुन्छ । त्यतातिर कोही आईजी नढिम्किएको देख्नुभा’कै छ ।’

नम्र भएर यति भन्दा पनि किशोर कराउन थाले, ‘तिमीले भन्दैमा छाड्छु म †’ सम्झाएर नहुने भएपछि ‘भलिबल हानेजस्तो बजाएरै छाड्छु’ भन्दै दुर्ज ताते । तर, माधव थापाहरुले ‘यसो नगरौँ, भयो–भयो’ भन्दै थम्थम्याएर त्यहाँबाट निस्किए । दुर्जकुमार, सिंहबहादुर श्रेष्ठहरुको भनाइ थियो, ‘एउटा संस्था, वर्षौं सँगै जागिर खाएर रिटायर्ड भएका साथीहरु छौँ ।

यस्तोमा प्रतिस्पर्धा होइन, सहमति गरेर अगाडि बढौँ । हिजो जागिर खाँदा पनि साथीले टप्ला भनेर रातदिन हिँड्यो । आज रिटायर्डमा त अलिक सुखले, हाँसिखुशी मिलेर जाऔँ न यार †’ यसो भन्दा पनि किशोर लामा नमान्ने । ‘म एकचोटि अध्यक्ष हुन्छु, त्यसपछि ठाकुर हुन्छ †’ भन्ने उनको जिकिर । अहिलेसम्म सशस्त्र प्रहरीमा अवकासप्राप्त कर्मचारीको संख्या १० हजार पुगिसकेको छ । तर, त्यति संख्यामा सदस्य छैनन् ।

सबै भूपू सशस्त्र प्रहरीलाई समेट्नका लागि प्रभावकारी नेतृत्व चाहिने कारण नयाँलाई अवसर दिऊँ भन्ने कृष्णकुमार तामाङ ठाकुरमोहनतिर, अरु किशोर लामातिर । ठाकुरमोहनको भनाइ थियो, ‘के मेरो काम सधैँ पर्खिनेमात्र हो । आइजी बन्नलाई त्यसै गरे । अन्यायमा पारे । अब संघको अध्यक्ष बनाउने भनेर धेरैजसो साथीहरु मेरै पक्षमा हुनुहुन्छ । किशोरलाई मात्र सधैं अवसर किन ?’

उता, नेपाल प्रहरीबाट रिटायर्ड भएका भूपूहरुको अर्को गञ्जागोल छ । पूर्वप्रहरी संगठनमा बाँचुञ्जेल अध्यक्ष भएका डिबी लामाको निधनलगत्तै भूपूएसएसपी बसन्त कुँवर अध्यक्ष भए । तर, उनको नेतृत्व स्वीकार नगर्नेहरुले भूपूएआइजी रमेश श्रेष्ठलाई अध्यक्ष बनाएर अर्कै संगठन सञ्चालन गरेका छन् ।

कुँवर अध्यक्ष रहेको संगठनले नेपाल प्रहरीकै सहयोगमा धापासीमा आफ्नै भवन बनाएर वर्षौंदेखि कार्यालयसहित पार्टी प्यालेस सञ्चालन गर्दै आएको छ ।

प्रहरीले अहिलेसम्म धापासी कार्यालयलाई नै बैधानिकता दिँदै आएकोमा अब दुई पक्षबीच छलफल गरेर एकै संगठन बनाउने अभ्यास थालिएको प्रहरीस्रोतले जनाएको खबर जनआस्था साप्ताहिमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७