बैठकमा गणपूरक समस्या : सांसदको ढोकामा मात्रै जम्काभेट


२१ मंसिर २०७५, शुक्रबार
samsad bhawan संसद भवन

काठमाडौं, २१ मंसिर । कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर संघीय संसदमा प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भई दिंदा त्यसको असर अहिले संसदीय समितिलाई परेको छ ।

samsad bhawan संसद भवन 2

पछिल्लो समय बैठक सञ्चालनका लागि सांसदको उपस्थितिको आवश्यक न्यूनतम संख्या (कोरम) नपुग्दा संसदीय समितिको बैठक निर्धारित समयमा सञ्चालन हुन सकेका छैनन् । केही सांसद अन्त्यसम्म नबस्ने, केही अन्त्यतिर मात्रै बैठक कक्षमा प्रवेश गर्ने व्यवहारले समितिका सभापतिलाई गणपुरक संख्या पुर्‍याएर बैठक सञ्चालन गर्ने सधैं धौधौ पर्दै आएको छ ।

प्रतिनिधिसभा अर्थ समितिको केही दिनअघि बिहान ९ बजे डाकिएको बैठक कोरम नपुगेपछि दिउँसो १ बजेका लागि सारिएको थियो । उक्त सारिएको समयमा पनि एक घण्टा पर्खदा समेत गणपूरक संख्या नपुगेपछि पदेन सदस्यका रूपमा रहेका मन्त्रीलाई पनि जोडेर बैठक सञ्चालन गरियो ।

गणपूरक संख्याको समस्या भएपछि समितिका सदस्य एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने, ‘समितिका सदस्यमध्ये जसले आफूसँग अर्काे सांसद लिएर आउँछ त्यसलाई प्रोत्साहन स्वरुप पुरस्कारकै व्यवस्था गर्नुपर्ला जस्तो छ ।’

सोही समितिको अर्काे दिन बोलाइएको बैठक पनि सांसदको न्यून उपस्थितिका कारण गणपूरकसम्बन्धी समस्याले दुई पटक स्थगन भयो । उक्त समितिमा योगदानमा आधारित सेवा निवृत्तिभरण कोषसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल हुने कार्यसूची थियो । बैठक सञ्चालनका लागि १३ सांसद उपस्थित हुनुपर्नेमा नौ जना मात्र सदस्य उपस्थित भए ।

सभापतिले आधा घण्टाका बीचमा गणपूरक संख्या नपुगेकै कारण तीन वटा बैठक राखे । पछिल्लो बैठकमा पनि नौ जना मात्र सदस्य उपस्थित थिए । उक्त समितिमा अहिले बीमा, भुक्तानी फछ्र्यौट र लेखापरीक्षण समेत चार वटा विधेयकले प्रवेश पाएका छन् ।

समितिका सभापति कृष्णप्रसाद दाहाल भन्छन्, ‘आगामी संसद्को अधिवेशनअघि नै चार वटै विधेयक छलफल गरेर टुङ्ग्याउनु पर्नेछ, गणपूरकसम्बन्धी समस्याले बैठक पटक–पटक स्थगित गर्नु परिरहेको छ, कानून निर्माणको मुख्य जिम्मेवारी प्राप्त गरेका सांसदले विधेयकमाथिको छलफलका लागि आवश्यक समय दिएमा समितिले जिम्मेवारी समयमा पूरा गथ्र्याे ।’

‘समितिमा प्रवेश पाएकामध्ये बीमासम्बन्धी विधेयक निकै महत्वपूर्ण भएकाले कम्तीमा पनि पाँच–सात वटा बैठक राखेर गहन र विस्तृतरूपमा छलफल गर्नुपर्ने आवश्यकता छ, त्यसका लागि अब समयको चाप साँघुरिँदै गएको छ, आगामी दिनमा गणपूरकको समस्या भोग्न नपरोस्, यही अपेक्षा गरौं’, उनले भने ।

बैठकमा पुरापुर समय दिने, अरुका कुरा सुन्ने अनि आफ्नो धारणा राख्ने चलन सामान्यतया हराइसकेको छ । पहिले आउनेले आफ्ना कुरा राखेर निस्कने तथा पछि आउने पनि पुरापुर बैठकमा नबस्ने प्रवृत्ति मौलाउँदो छ । यस्तो प्रवृत्तिका कारण बैठकको अन्त्यमा विधेयक पारित गर्न चाहिने आवश्यक न्यूनतम संख्याको पनि अपुग हँुदै आएको छ ।

२५ सदस्यीय रहने समितिका बैठक सञ्चालनका लागि १३ जनाको उपस्थितिलाई गणपूरक मानिन्छ । एकै दिन लगातार दुई वटा बैठक बोलाउँदा गणपुरक संख्या अभाव भएको खण्डमा तेस्रो भने सात जना अर्थात् एक चौथाइ सदस्यका उपस्थित भएको आधारमा सञ्चालन गरिन्छ ।

यतिसम्म देखिन्छ कि, बैठकको अन्त्यतिर सांसदको संख्याभन्दा आमन्त्रित व्यक्तिको संख्या दोब्बर हुन पुग्दछ ।

‘संघीय संसद्को चुनाव जितेर आएका सांसदको कानून निर्माण भन्दा अरु ठूलो के नै काम हुन सक्दछ र ? उहाँहरूले संसद् र समितिका बैठकलाई समय दिन नसक्ने ?’, सभापति दाहाल भन्छन् ।

प्रतिनिधिसभाको अर्थ समितिको बैठक एउटा प्रतिनिधिमूलक घटना मात्र हो, अहिले प्रायः सबै समिति सञ्चालनमा गणपूरकको प्रश्न मुख्यरूपमा उठिरहेको छ ।

पहिले उपस्थित हुने र पछि प्रवेश गर्ने सांसदबीच बैठक ढोकामा मात्रै जम्काभेट हुने प्रवृत्ति कहिले अन्त्य होला र समयमा बैठक सञ्चालन होला भन्ने विषय अहिले गम्भीर प्रश्नको रूपमा खडा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७