अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव छैन : प्रधानमन्त्री


२८ माघ २०७५, सोमबार
oli

काठमाडौँ, २८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव नभएको बताएका छन् । भ्रष्टाचार सबैको सत्रु भएको उल्लेख गर्दै ओलीले भ्रष्टाचारलाई निमिट्यान्न पार्नु अहिलेको आवश्यकता भएको बताए ।

oli


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको बताए । भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न सरकार, आयोग र अन्य निकाय दृढ छन्, अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव छैन, भ्रष्टलाई घरमा श्रीमती, श्रीमान् र छोरा छोरीले घृणा गर्दछन् । भ्रष्टाचार सबैको सत्रु हो । भ्रष्टाचारलाई निमिट्यान्न पार्नु अहिलेको आवश्यकता हो ।’

सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण र निर्मूल हुनु आवश्यक रहेको बताउँँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार स्वयं भ्रष्टाचारको सत्रु भएको टिप्पणी गरे । । भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारका कारण आदर्श र सदाचारयुक्त समाज केही प्रदूषित भए पनि स्वच्छता कायम गर्दै अघि बढ्नुपर्ने बताए ।

भ्रष्टचार नियन्त्रण नभए लोकतन्त्र नै संकटमा पर्छ

भ्रष्टाचार नियन्त्रण हुन नसके लोकतन्त्र नै सङ्कटमा पर्नेतर्फ सरोकारवाला सबैलाई सचेत गराए । उनले जनताको प्रणालीलाई प्रभावकारी बनाउन र अन्तर्रा्ष्ट्रिय दायित्व पूरा गर्न भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए । भने, ‘आयोगको सफलता सरकार र सिङ्गो नेपालको विकास प्रक्रिया तथा लोकतन्त्रको सफलता हो ।’

अब नेपाल गरीब भइरहन नसक्ने बताए । उनले भने, ‘हाम्रो ६० प्रतिशत जनसख्या क्रियाशील छ तर पनि गरीब छौँ, प्राकृतिकरुपमा निकै सम्पन्न भए पनि गरीब छाँै किन ? यो विषय अब नेपाललाई स्वीकार्य छैन ।’

निश्चित समयसीमा तोकरै नेपाललाई विकासको चरणमा लैजाने बताउँदै प्रधानमन्त्री ओलीले पाँच वा दश वर्षभन्दा पछि नेपाल गरीब नरहने बताए । नेपाल विद्वान र तिनका सन्तान भएको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उर्बरतायुक्त, ऋषिमुनीदेखिका ज्ञानगुनले भरिपूर्ण सदाचारयुक्त देश भएको सन्दर्भमा अन्तर्रा्ष्ट्रिय मञ्चमा नेपाल ठाडो शिरका साथ उभिने बताए ।

प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त रहन र मुक्त राख्नका लागि सम्बन्धित निकायकालाई सहयोग गर्न तथा आयोगलाई भ्रष्टाचार नियन्त्रण र निवारणमा हातेमालो गर्न आह्वान गरे ।

कार्यक्रममा आयोगको स्थापना दिवसका अवसर पारेर आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै आयोगको कामकारवाहीमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका पदाधिकारी, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७