रेशम चौधरीलाई जन्मकैदको आदेश दिने न्यायाधीश काठमाडौं जिल्ला अदालतमा सरुवा


९ बैशाख २०७६, सोमबार
RESHAM ......

काठमाडौं, ९ बैशाख । सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजायको आदेश दिने कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई जिल्ला अदालत काठमाडौंमा सरुवा गरिएको छ ।

कैलाली जिल्ला अदालतका न्यायाधीश भट्टराईको इजलासले २०७५ फागुन २२ मा टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको संजाय सुनाएको थियो । न्यायाधीश भट्टराईले १२ जनालाई ३ वर्ष, एजनालाई ६ महिना र तीन जनालाई सफाई हुने फैसला गरेका थिए ।

चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी, गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने फैसला भएको थियो । न्यायाधीश भट्टराईले साहसिक फैसला गरेबापत पुरस्कृत गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उनलाई जिल्ला अदालत काठमाडौंमा सरुवा गरेको समाचार स्रोतले बताएको छ । रेशम चौधरीलाई जन्मकैदको आदेश किन दिइयो भन्नेबारेमा न्यायाधीश भट्टराईले १ सय ९७ पृष्ठको फैसला छोटो समयमा तयार गरेका थिए ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो । सोही मुद्दामा चौधरी सहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो भने ३१ जना फरार छन् । फरार रहेका ३१ जनाको मुद्दा अहिलेलाई मुल्तवीमा राखिएको थियो ।

पुर्पक्षका लागि जेलमै रहँदा रेशम चौधरीले २०७४ को प्रतिनिधिसभा चुनावमा वारेशमार्फत उम्मेदवारी दिएका थिए । उनी कैलाली १ बाट भारी मत ल्याएर सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७