‘प्रेमगीत–३’ : ‘गीत’ को अडिसनका लागि यी २५ युवती छनोट, कसले पाउँलिन् प्रदीपको जोडी बन्ने अवसर ?


१० जेष्ठ २०७६, शुक्रबार
preem geer 3

काठमाडौं, १० जेठ । अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माको करिअरको टर्निङ पोइन्ट बनेको फिल्म हो– ’प्रेमगीत’ ।

सुदर्शन थापा निर्दे्शित तथा सन्तोष सेन निर्मित यो फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिए पनि दर्शक र समीक्षकले औधि रुचाएका थिए । यसको दोस्रो पार्टले भने समीक्षकलाई चित्त बुझाउन सकेन । तर, फिल्मले बक्सअफिसमा राम्रो पैसा छापेको थियो ।

अब यो फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । दशैं अगावै फ्लोरमा जाने ’प्रेमगीत ३’ का लागि अहिले निर्माण टिम ’गीत’ को क्यारेक्टरका लागि अभिनेत्रीको खोजीमा छ । ’प्रेम’ को भूमिका भने तेस्रो पटक पनि अभिनेता प्रदीपले नै निभाउँदैछन् । केही हप्ता अगाडि निर्माण कम्पनी आशुसेन फिल्मस्ले प्रदीपको हिरोइनका लागि अडिसन आह्वान गरेको थियो ।

१८ वर्ष भन्दामाथि र २५ नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर ’गीत’ का लागि अडिसन दिन सक्ने निर्माण कम्पनीले विज्ञप्तीमार्फत् जानकारी गराएको थियो । जेठ १० गते बिहीवारबाट अडिसन आह्वानको मिति सकिएको छ । निर्माता सन्तोष सेनले २ हजार ७ सय १४ जनाले ‘गीत’ को क्यारेक्टरका लागि आवेदन दिएको बताएका छन् ।

आवेदन दिएकाहरु मध्येबाट शुक्रवार उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनोट गरिएको छ । निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठलगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो । अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात् फिल्मको ‘गीत’ पात्रका लागि एक जना छनोट गरिनेछ ।

‘गीत’ को लागि आएका आवेदनबाट उत्कृृष्ट २५ छनोट गर्न निकै गाह्रो भएको उनी बताउँछन् । ‘‘प्रेमगीत’ मा पूजा शर्मा र ‘प्रेमगीत २’ मा अश्लेषा ठकुरीले ‘गीत’ को भूमिका निभाएकी थिइन् । ‘प्रेमगीत ३’ मा नयाँ लुक्सलाई भित्राउने हाम्रो तयारी हो । उत्कृष्ट २५ मा छानिएका मध्येबाट क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर एकलाई ‘गीत’ क्यारेक्टरमा छान्नेछौं’’, उनले भने ।

‘गीत’ को क्यारेक्टरका लागि उत्कृष्ट २५ मा छानिएका प्रायः युवतीहरुले फिल्म र म्यूजिक भिडियोमा काम गरिसकेका छन् । एलिशा शर्माले ’चिँ मुसी चिँ’ बाट फिल्ममा डेब्यू गरेकी थिइन् । भने, ’बोल माया’ बोलको गीतबाट चर्चामा आएकी अञ्जली अधिकारी पनि उत्कृष्ट २५ मा छनोट भएकी छन् । करुणा श्रेष्ठले पनि फिल्म ’सय कडा दश’ मा अभिनय गरिसकेकी छन् ।

यस्तै, ’बुगि बुगि’ की विजेता कविता नेपाली पनि उत्कृष्ट २५ मा परेकी छन् । उत्कृष्ट २५ मा छानिएकी मोडल क्रिस्टिना थापाले दर्जनौं गीतमा मोडलिङ गरेकी छन् । उनले अभिनय गरेको भिडियो मध्ये गायक सुनिल गिरीको ’को होला त्यो ?’ बोलको गीत निकै चर्चित भएको थियो । यसमा उनले अभिनेता पल शाहसँग रोमान्स गरेकी थिइन् ।

लिड हिरोइनका लागि आवेदन दिएर उत्कृष्ट २५ मा छनोट भएकी लाक्पा शेर्पा पनि मोडल हुन् । भने, पूजा तिवारी फिल्म ’बेबी आई लभ यू’ बाट अभिनय यात्रामा होेमिएकी थिइन् । गीतको भूमिकाका लागि उत्कृष्ट २५ भित्र पर्न सफल ६ युवती परिचित अनुहार भए पनि बाँकी विल्कुलै नयाँ अनुहार हुन् । यीमध्ये को प्रदीपको हिरोइन हुनेछन् ? धेरैलाई यसको प्रतिक्षा छ ।

हरेक पार्टमा लिड अभिनेत्री र निर्देशक परिवर्तन गर्दै आइरहेका निर्माता सन्तोषले ’प्रेमगीत ३’ लाई आफैंले निर्देशन गर्दैछन् । उनलाई छेतेन गुरुङले निर्देशनमा सघाउँदैछन् । फिल्मको कथा छेतेनकै हो । केही दिनयता निर्माण टिम लोकेशन हन्टिङ र स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छ । फ्लोरमा नजाँदै फिल्मको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७