‘प्रधानमन्त्रीकै पार्टीभित्र फरक मत राख्ने साथीहरु पनि होसियार, अब कोही सुरक्षित छैन’


१ असार २०७६, आईतवार
gagan thapa

काठमाडौं, १ असार :  नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयक पारित भए अब कोही पनि सुरक्षित नरहने बताएका छन् । यो विधेयकले सबै खालका अभिव्यक्तिको स्वतन्त्रताहरुलाई कुन्ठित गर्ने उनको दाबी छ ।

संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयकको तिव्र बिरोध गरे । सांसद थापाले बहुमतको बलमा यो विधेयक पास भए सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित नहुने उनको दाबी छ ।

सांसद थापाले प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने पनि अब असुरक्षित रहेको उनको दाबी छ । उनले भने, ‘म त भन्छु, प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार । किनकी यहाँ अब कोही सुरक्षित छैन । यो कानुन पारित भइसकेपछि कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौं । यहाँ केवल सरकारको अरिङ्गालहरु मात्र सुरक्षित रहन सक्छन् ।’


विधेयकमा सामाजिक सञ्चालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लासखम्म जरिवाना गर्ने व्यवस्था छ । उनले सोधे, ‘जिस्क्याउने, झुक्याउने, होच्याउनेको परिभाषा के ?’

अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भरतमा सर्वोच्च अदालतले सूचना प्रविधि ऐनको दफा ६६, ए खारेज गरेको उल्लेख गर्दै थापाले नेपालमा भारतको भन्दा कठोर कानुन बनाउन लागिएको बताए ।

सांसद थापाले अभिव्यक्तिको स्वतन्त्रताको पक्षधरहरुलाई होसियार रहन अपील गरे । ‘चलचित्रकर्मीहरु साथीहरु होसियार, तपाईको कथा, सम्वाद, गीतमा कसैलाई जिस्क्याउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा अब सम्भवत तपाई बस्नुपर्ला, त्यो पनि केही दिनका लागि होइन, ५ वर्ष ।’ उनले लेखक ब्रजेश खनालको कविता उदृत गरेर संसदमा सुनाए :-

तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु्, 
तँ हेर त्यत्ति मात्र जे म देखाउन चाहन्छु, 
तँ सुन त्यत्ति मात्र जे म सुनाउन चाहन्छु,
तेरे स्वतन्त्रताको घेरा मैले कोरेको शुन्य भन्दा बाहिर छैन, 
किनकी मलाइ चिनेको छस ?
म हुँ तेरो सरकार’



सांसद थापाले थपे, ‘गुठियारहरु होसियार, गुठी भनेको सामन्तवादी प्रवन्ध हो भन्ने सरकारी मुखलाई खबरदारी बन्दै गर्दा धम्क्याइएको आरोपमा ५ वर्ष भित्र बस्नुपर्ला । प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भन्दा जिस्काइयो भनेर कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार ।’

उनले जर्मन कवि मार्टिनको कविताको हरफ उल्लेख गर्दै भने, ‘पहिले उनीहरु समाजवादीलाई लिन आए । म बोलिनँ । किन कि म समाजवादी थिइन । उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए, म बोलिनँ । किन कि म ट्रेड युनियनकर्मी थिइनँ । उनीहरु जुजलाई लिन आए । म बोलिनँ किन कि म जुज थिइनँ । जब उनीहरु अन्तिममा मलाई लिन आए, मेरा लागि बोल्न बाँकी कोही थिएन ।’

उनले भने, ‘सम्माननीय सभामुख महोदय, यस्तै अवस्था आउँदै छ । उठौ ,बोलौ, जागौं, सरकारको यो कानुनविरुद्ध अहिले हो बोल्ने बेला । यो कानुन यो संसदबाट पारित हुनु भनेको संविधानको खिलाप मात्रै होइन । हाम्रो आन्दोलनको, अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हो । त्यसैले म यो कानुनको विरुद्ध जनमत श्रृजना गर्न सबैलाई अनुरोध गर्दछु ।’

स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै अघि बढेको हस्तक्षेपकारी सरकारको प्रवृति नै डरलाग्दो भएको उनले टिप्पणी गरे  । ‘सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान ध्वस्त गर्ने गरि गाली बेइजती गरिरहन पाउने,’ उनले भने, ‘तर सरकारलाई मन नपर्दा गाली बेइजती र शिष्टाचार वा नैतिकताको नाममा जुनबेला मन लाग्यो मुख थुन्न पाउने गरि कानुन सरकारले बनाउन लागेको छ ।’

अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्तिको स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले २०१५ मा सिंगल भर्सेस अफ इण्डियाको मुद्धामा २००२ मा बनेको भारतको सूचना प्रविधि ऐनको दफा ६६ ए लाई असंबैधानिक भन्दै खारेज गरेको उल्लेख गर्दै उनले नेपालमा भारतमा भन्दा कठोर कानुन बनाउन लागिएको दाबी गरे । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७