राजपा रणनीति : कांग्रेसँग कार्यगत एकता, समाजवादीसँग पार्टी एकता


७ श्रावण २०७६, मंगलवार
rajapa adaksha mandal

सन्तोष साह
काठमाडौं, ७ असार :   राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कार्यगत एकता र प्रदेश नम्बर दुईका सत्तासाझेदार समाजवादी पार्टी नेपालसँग पार्टी एकता गर्ने रणनीति बनाएको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले कांग्रेससँग पार्टीको मुद्दा मिलेकाले संसदभित्र कार्यगत एकता भएको बताए । संसदमा कांग्रेस र राजपा नेपालले कार्यगत एकता गर्दै अघि बढिरहेको र आमगी दिनमा थप मुद्दामा समेत कार्यगत एकता गर्दै अघि बढ्ने यादवले बताए ।

‘राजपा र कांग्रेसको मुद्दा मिलेकाले संसदमा कार्यगत एकता गरेका हौं’ यादवले भने, ‘थप मुद्दामा पनि अन्य लोकतान्त्रिक पार्टीसँग समेत कार्यगत एकता गर्दै अगाडी बढन सक्छौं ।’

कांग्रेससँग मिलेर राजपाले संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेससंगै मिलेर राजपाले बाढीपीडितको उद्दार तथा राहतमा सरकारको ध्यानाकर्षण गराउन छलफल गर्ने भन्दै ३० असारमा संसदमा प्रस्ताव दर्ता गराएको थियो । तर सभामुख कृष्णबहादुर महराले संसद बैठक सूचना टाँसेर ८ साउन सम्म स्थगित गरेपछि राजपा र कांग्रेस रुष्ट छन् ।

सर्लाही गोलीकाण्ड बारेमा छानबिनका लागि संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने चेतावनी दिदै उनले संसदको बैठकमा आफूहरुले अवरोध जारी नै राख्ने जानकारी दिए । सर्लाहीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेल र अर्का युवा सरोजनारायण महतोको राज्यले सुनियोजित ढंगले हत्या गरेको भन्दै राजपा र कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार, अनियमितता, कुशासन बढाएको आरोप लगाउँदै उनले ८ साउनमा बस्ने संसद बैठक समेत चल्न नदिने चेतावी दिए । सरकार बिरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका यादवले लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न सरकारलाई दबाब जारी राख्ने बताए ।

समाजवादीसँग एकता

अध्यक्ष मण्डलका संयोजक यादवले राजाप नेपाल र समाजवादी पार्टीका बीचमा एकताका लागि छलफल भईरहेको बताए । पार्टीले गठन गरेको वार्ता टोलीले बिभिन्न चरणमा समाजवादीसंग गरेको छलफल सकारात्म रहेको उनले बताए ।

‘एकताका लागि छलफल भएको छ, तर सबै कुरा मिलिसकेको छैन्’ यादवले भने, ‘अहिले हामी छलफलकै क्रममा छौं, राजनैतिक र सैद्धान्तिक बिषयमा कुरा मिलेपछि एकता छिटै नै हुन्छ ।’

समाजवादी पार्टीसँग एकता प्रक्रियालाई आफूहरुले उच्च प्राथमिकतामा राखेको बताउँदै उनले अहिलेसम्म भएका छलफल सकारात्मक नै रहेको बताए । तर मिडियामा आएजस्तै सबै कुरा मिलि नसकेको उनले बताए । अझै राजनैतिक, सैद्धान्तिक लगायतका बिषयमा कुरा मिल्न बाँकी नै रहेको छ ।

राजनैतिक, सैद्धान्तिक, नीति तथा कार्यक्रम लगायतका मुद्दा मिल्ने अन्य पार्टीसँग पनि राजपाले एकताको लागि ढोका खुला नै राखेको उनले बताए । समाजवादी पार्टी मात्रै नभई मुद्धा मिल्ने अन्य पार्टीसंग पनि एकता गर्नका लागि आफूहरु सकारात्मक रहेको उनले बताए ।

राजपा नेपाल महासचिव अजय गुप्ताले पार्टी एकिकरणका लागि शिर्ष तहका नेतका बीचमा छलफल भइरहेको बताए । अहिले सम्म भएको छलफल सकारात्मक नै रहेको बताउँदै उनले सैद्धान्तिक, राजनीतिक बिचार मिल्ने बितिकै एकिकरण उनको भनाई छ ।

महाधिबेशन तोकिएकै मितिमा

राजपा नेपालको महाधिबेशन पटक पटक तोकिए पनि स्थगित हुँदै आएको छ । ७ बैशाख २०७४ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका बिभिन्न ६ मधेसवादी दलका बीचमा एकिकरण भई राजपा नेपालको घोषणा भएको हो ।

ती ६ वटै दलका संयोजकहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा क्रमश अध्यक्ष मण्डलको संयोजक हुदै आएका छन् । तर तोकिएको मितिमा महाधिबेशन नगरी स्थगित हुँदै आएको छ ।

पार्टी एकिकरण घोषणासभामा शिर्ष नेताहरुले एक बर्षभित्रैमा एकता महाधिबेशन गर्ने बताएका थिए । तर लामो समय बितिसक्दा समेत महाधिबेशन नगरी पार्टीमा ६ जना नेताको सिण्डीकेट रहेको आरोप पार्टीकै नेताले लगाउँदै आएका छन् ।

राजपा नेपाल संयोजक यादवले अब पार्टीको महाधिबेशन स्थगित नहुने ठोकुवा गरेका छन् । तोकिएकै मितिमा महाधिबेशन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यादवले तयारी तिब्र रुपमा भईरहेको बताए । २८, २९ र ३० कार्तिकमा एकता महाधिबेशन गर्ने निर्णय यस अघि नै गरिसकेको छ । यादव चक्रिय प्रणाली अनुसार अगामी ५ असोज सम्म २ महिना संयोजक पदमा रहनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७