सीमा सुरक्षाको इन्स्पेक्टर सरुवामा चलखेल


४ भाद्र २०७६, बुधबार
Nepal police

काठमाडौं, ४ साउन :  सशस्त्र प्रहरी बलले पछिल्लो समय इन्सपेक्टरको सरुवा गर्दा व्यापक चलखेल भएको पुष्टि भएको छ । यसअघि डीएसपीदेखि डीआईजीसम्मको सरुवा सकिसकेको सशस्त्र बलले केही दिनअघि इन्सपेक्टरहरूको सरुवा निकाल्दा व्यापक चलखेल भएको हो ।


साउन सुरुमै हुनुपर्ने इन्स्पेक्टरहरूको सरुवा भदौ १ गते आएर ४ सय ३४ जनाको सरुवा निकालिएको हो । १ सय ६ वटा बोर्डर आउटपोस्ट (बीओपी) को इन्चार्ज इन्स्पेक्टर हुन्छन् । ती बीओपीमा सरुवा हुनेहरूसँग रकमको मोलमोलाइ भएर मात्र सरुवा निकालिएको बताइएको छ । हरेक प्रदेशमा बाहिनी रहेको हुन्छ, जसको कमान्ड डीआईजीले गर्ने गर्छन् ।

त्यस्तै जिल्ला तहमा सीमा सुरक्षा गण हुन्छ, जसको कमान्ड एसपीले गर्ने गरेका छन् । तर बीओपीमा इन्स्पेक्टरहरू खटाउन भने प्रदेशका डीआइजीहरूलाई निश्चित नामको सूची नै अग्रिम पठाएर कार्यविभाजन गरिएको बताइएको छ । पहिले नै अनअफिसियल सूची निकालेर कनिष्ठ, पावरदार र आर्थिक रूपमा चलखेल गर्ने इन्सपेक्टरहरूलाई रोजेको स्थानमा खटाउन बाध्य पारिएको बताइएको छ ।

त्यसो त बीओपीमा यसअघि कार्यविभाजन गर्दा पनि आइजी खनालले यस्तै मनपरी गरेका थिए।अहिले ८६ वटा बीओपीबाट बढाएर सरकारले १ सय ६ पुरायाएको छ । खनालले तराईका जिल्लाका सीमा सुरक्षा कार्यालय, गण र बीओपीबाट सशस्त्रको संख्या कटौती गर्दै मनपरी गरी पहाडतिर थुपारेका थिए । तर सशस्त्रका उच्च अधिकारी र गृहको जोडमा बीओपीको संख्या बढाएको छ । उनले नै त्यही आधारमा सरुवा गर्दा लाभ लिएका छन् ।

आफ्ना निकट भनिएकालाई छानीछानी राम्रो र आकर्षण बोर्डरमा पठाइएको स्रोतको दाबी छ । स्रोतका अनुसार आईजीपी खनालले बोर्डर आउट पोस्टमा सरुवा हुने इन्स्पेक्टरहरूको लिस्ट तयार पार्न पीए नारायण गुरुङ र डीआईजी सुरजकुमार श्रेष्ठको टोली नै परिचालन गरेका थिए । भन्सार नाका र छोटी भन्सार केन्द्रका बोर्डर आउट पोस्टको इन्चार्ज हुन सशस्त्र प्रहरीभित्र हानथाप चल्ने गर्छ ।

बीओपीमा सरुवा हुने प्रत्येक इन्स्पेक्टरका लागि ३ देखि ५ लाख रुपैयाँसम्म उनका मतियारहरूले उठाएको चर्चा छ । यसरी १ सय ६ वटा बीओपीमा सरुवा हुनेहरूसँग करोडौं रकम असुली भएको स्रोतले बतायो । हरेक प्रदेशमा सीमा सुरक्षा खुकुलो पारिएको बताइन्छ । पछिल्लो समय प्रदेश १ को इन्चार्ज नरेन्द्र थापा र प्रदेश ५ को इन्चार्ज नारायणदत्त पौडेल रहेका छन् । उनीहरूको कमान्ड भएको ठाउँमा खुकुलो ढंगले तस्करी जारी रहेकाले पोस्टका इन्चार्जहरू ती प्रदेशमा जान उत्साही भएका हुन् । अधिकांश इन्चार्जहरूको एउटा जिल्लाबाट त्यही जिल्लामा सरुवा भएको छ ।


जागिरबाट अवकाश हुने बेलामा इन्स्पेक्टरको सरुवाबाट मात्रै ठूलो रकम उठाएको बताइएको छ । उनी शक्तिकेन्द्रलाई रिझाएर अझै पनि एक एआईजीको दरबन्दी थप गर्न सकिन्छ कि भनेर लागि नै रहेको चर्चा पनि छ । यद्यपि, सशस्त्रमा एआईजीको दरबन्दी थप हुने सम्भावना अति कम रहेको बताइएको छ ।

-बुधबार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७