चेक बाउन्समा राष्ट्र बैंकको कडाइ, एक हप्तामा भुक्तानी नभए कालोसूचीमा पर्ने


२३ भाद्र २०७६, सोमबार
Rastra Bank

 काठमाडौं,२३ भदौ । चेक बाउन्समा राष्ट्र बैंकले कडा नीति लिएको छ। निर्देशन तथा परिपत्रमा संशोधनको व्यवस्था गर्दै राष्ट्र बैंकले बैंकहरुलाई नयाँ व्यवस्था लागू गर्न भनेको हो।

नयाँ व्यवस्थाअनुसार एकपटक भुक्तानी नभइकन फिर्ता भएको चेकको हकमा, चेक धारक (चेकको रकम पाउनुपर्ने व्यक्ति)ले कम्तीमा दुई कार्यदिनको समय दिई सम्बन्धित बैंक वा वित्तीय संस्थामा पुनः चेक पेश गर्न सक्नेछ।

दुई दिनपछि पनि रकम भुक्तानी नभएको खण्डमा चेकको रकम पाउनेले भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रुपमा जानकारी दिन सक्नेछ। यस्तो निवेदन चेक जारी भएको मितिले ६ महिना भित्र दिइसक्नु पर्नेछ। चेकको हस्ताक्षर नमिलेको खण्डमा, बैंकले चेकको हस्ताक्षर नमिलेको व्यहोरा चेक धारकलाई लिखित रुपमा जानकारी गराउनु पर्ने छ।


चेक धारकले चेकको हस्ताक्षर नमिलेको व्यहोरा चेक दिने व्यक्ति वा संस्थालाई बैंकरवित्तीय संस्था मार्फत जानकारी गराउनु पर्ने छ। चेक दिनेले चेकमा सही हस्ताक्षर नगरेमा वा चेक परिवर्तन नगरेमा धारक (चेकको रकम पाउनुपर्ने व्यक्ति)ले पहिलो पटक चेक पेश गरेको २ कार्यदिन पश्चात चेकको रकम भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रुपमा जानकारी दिन सक्नेछ।

जानकारी प्राप्त भएपछि सम्बन्धित बैंक वा वित्तीय संस्थाले चेक दिनेलाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक विदा बाहेक सात दिनको सूचना दिनुपर्नेछ।

सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा चेक दिनेलाई बैंक वा वित्तीय संस्थाले अनिवार्य रुपमा कालोसूचीमा सूचीकृत गर्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनु पर्नेछ। सो अनुसार नगरेमा बैंक तथा वित्तीय संस्थालाई नै कारबाही हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७