सामाजिक सञ्जालमा बिना मुद्दा समय बिताउने फूर्सदिला युवाको चिन्ता छ : प्रधानमन्त्री


३ आश्विन २०७६, शुक्रबार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 1

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा बिना मुद्दा समय व्यतित गर्ने फूर्सदिलो युवाहरुको आफूलाई चिन्ता लागिरहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ टुँडिखेलबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही फुर्सदिलो युवा पंक्तिले रचनात्मक र सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा समय व्यतीत’ गरेको बताएका हुन् ।

उनले मुलुकमा अहिले ३४ वर्षमुनिको जनसंख्या ६५.५ प्रतिशत रहेको उल्लेख गर्दै जनसांख्यिक लाभ लिनुपर्ने बताएका छन् । ‘युवा पंक्ति छिप्पिनु अघि विकासको तीब्र गतिको दौड पूरा गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ’मलाई गर्व ती युवा पंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयासहरु थालेका छन् । कतिले वस्तु उत्पादनबाट, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका छन् ।’

’मलाई थोरै चिन्ता केही फूर्सदिलो युवा पंक्तिको पनि छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ’, ओलीले सम्बोधनमा भनेका छन्, ‘मलाई चिन्ता एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ ।

‘क्रिटिकल अप्रोच’को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरुका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेको होकी जस्तो भान हुन्छ। ’

ओलीले उश्रृङ्खलता र अराजकता नभई सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुता आवश्यक रहेको बताएका छन् ।

‘पाइला नै नचलाई कसरी दौडने ? यथास्थितिमा रहेर परिवर्तनको अनुभूति कसरी दिने ? रुपान्तरण हैन प्रतिक्रिया, परिणामसँग साइनो नै नहुने प्रक्रियामा किन र कति अल्झिरहनु’, ओलीले थपे, ‘विना–मुद्दाका विषयमा मूल मुद्दा जस्तो बहस र विवादको माहौल किन बनाउने ? अझै पनि ‘हुँदैन र सकियो’ जस्ता असन्तुष्टिको खेतीलाई उकेरा किन लगाउने ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७