रूप ज्योतिकी छोरी सुरुची पनि पक्राउ


२२ कार्तिक २०७६, शुक्रबार
rup

काठमाडौं, २२ कार्तिक । पूर्व अर्थ सहायकमन्त्री रूप ज्योतिलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरीले उनकी छोरी सुरुची ज्योतीलाई समेत पक्राउ गरेको छ ।

हाउजिङका नाममा दुई करोड ७० लाख रूपैयाँ ठगी गरेको आरोप लागेका पूर्व अर्थ सहायकमन्त्री एवं व्यापारी रूप ज्योतिकी छोरी सुरुची ज्योतिलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले सुरुचीलाई आज (शुक्रबार) पक्राउ गरिएको जानकारी दिएका छन् ।

रुप ज्योतिलाई बिहीबार सिङ्गापुरबाट नेपाल फर्किदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकेको थियो । सर्वोच्च अदालतले सोमबार रूप ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई बाटो खोलि दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएपछि जिल्ला अदालतको आदेश सदर भएको थियो ।
के हो काण्ड ?
२०७० सालताका नेपालको ठूलो व्यवसायिक घराना ज्योति समूहले हाउजिङमा पनि लगानी गर्ने ‘हल्ला’ चलायो । हल्ला चलाउनुअघि नै ज्योति समूहले हाउजिङमा लगानी गर्ने रणनीति बनाइसकेको थियो । त्यसका लागि ल्यान्डमार्क डेभलपर्स प्रा.लि. दर्ता भइसकेको थियो ।

कूल १० करोड १० हजार रूपैयाँ बराबरको प्रथम पूँजी भएको कम्पनीमा ज्योति समूहको ५० लाख रूपैयाँको शेयर छ । ज्योति समूहकै अर्को कम्पनी स्याकर कम्पनी प्रालिको ९ करोड ५० लाख रूपैयाँको शेयर लगानी छ ।

एकपटक मध्यमवर्गीय परिवारका लागि कम लगानीमै घर निर्माण गरिदिने भनेर सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको भनेर बदनाम भएको जय स्निपिङ मिल्स प्रालिले पनि ल्यान्डमार्क डेभलपर्समा १० हजार रूपैयाँको शेयर लगानी गरेको छ ।
यसरी गरियो ठगी
ज्योति समूहले हाउजिङमा लगानी गर्ने भएपछि काठमाडौंका रैथानेदेखि बाहिरबाट आएर व्यापार व्यवसायमा संलग्नहरूले ‘घर’ किन्न १० लाख रूपैयाँका दरले पैसा जम्मा गरी ल्यान्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो क्षेत्र ‘बुक’ गरे ।
कम्पनीले ७ आना क्षेत्रफलमा व्यवसायिक प्रयोजनसहितको घर निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो ।

२०७१ जेठबाट हाउजिङ निर्माणको प्रक्रिया शुरू गरेको ल्यान्डमार्कले हाउजिङ निर्माणको सम्पूर्ण जिम्मा सीई कन्सट्रक्सनलाई दियो ।

निर्माण क्षेत्रमा ख्याति कमाएको सीई कन्स्ट्रक्सनलाई ल्यान्डमार्कले हाउजिङ निर्माण मात्र होइन बिक्रीदेखि बुकिङका सन्दर्भमा सम्पूर्ण निर्णय गर्ने अधिकार पनि दियो । सीई कन्स्ट्रक्सन र ल्यान्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने उल्लेख छ । नाफामा प्रतिशत बाँडेर लिने सम्झौता दूवै कम्पनीबीच भएको थियो ।

सीईले हाउजिङमा हात हालेपछि हाउजिङ बूकिङ गरेका मानिसहरूले २०७१ को भदौमा थप १ करोड २६ लाख ७५ हजार रूपैयाँ बुझाए । उक्त पैसा सीई कन्सट्रक्सनले बुझेको थियो ।

करीब २२ वटा घर निर्माण गर्ने हाउजिङका लागि सबै घर बूक भइसकेका थिए । तर, काम भने निकै सुस्त थियो । यसबीचमा १२ वैशाख २०७२ मा गएको भूकम्पले काम प्रभावित भयो । एक वर्षसम्म त ठप्प नै रह्यो । भूकम्पको एक वर्षपछि अघि बढेको काम वि.सं. २०७४ तिर अन्तिम चरणमा पुग्यो । जब घर निर्माण भइसकेर हस्तान्तरण हुनुपर्ने बेला आयो, त्यसपछि शुरू भयो झमेला ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७