डा. केसीको स्वास्थ्य जटिल बनेपछि लिन डडेलधुरा पुग्यो सेनाको हेलिकोप्टर

अस्पतालमा तनावको अवस्था


२५ कार्तिक २०७६, सोमबार
govinda kc

डडेलधुरा, २५ कार्तिक । डडेलधुरामा १७ औं पटक अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई लिन नेपाली सेनाको हेलिकोप्टर गएको छ ।

डा. केसीको स्वास्थ्य जटिल बन्दै गएकाले उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर गएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि आइतबार विज्ञप्ति निकालेर डडेल्धुरा अस्पतालले केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको थियो ।

केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालको भनाइ छ । केसीको थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएको अस्पतालले जनाएको छ ।

‘यस अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति र उपकरण उपलब्ध नभएकाले उहाँको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दै यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन् । पहिला निजी घरमा अनसन बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल सारिएको हो । प्रशासनले डाक्टर केसीलाई काठमाडौं पठाउन पहल गरे पनि केसीले मानेका छैनन् ।

‘उहाँले काठमाडौं जान मान्नु भएको छैन । हामी कोशिस गरिरहेका छौं,’ प्रजिअ पौडेलले भने । डा. केसीलाई ल्याउन गएको हेलिकोप्टर डडेलधुरास्थित सैनिक व्यारेकमा राखिएको छ ।
अस्पतालमा तनावको अवस्था
अनसनरत डा. गोविन्द केसीलाई अनसनस्थल सार्न प्रहरीले दबाव दिएको छ । तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

अनसनस्थलमा रहेका डा. केसीका भाइ किशोरका अनुसार आज बिहानैदेखि प्रहरीले केसीलाई अनसन छोडाएर लैजान दबाव दिएका छन् । ‘प्रहरीले डा. केसीलाई कहाँ लान खोजेको हो, केही जानकारी दिएको छैन । तर, उठाएर लैजान दबाव दिइरहेको छ’, केसीका भाइ किशोरलले भने ।

प्रहरीले केसीलाई अनशनस्थल छाड्न दबाव दिएपछि केसीका समर्थकले भने त्यसो नगर्न प्रहरीसँग आग्रह गरिरहेका छन् । प्रहरी र डाक्टर केसीका समर्थकका कारण अहिले डढेल्धुरा अस्पताल तनावग्रस्त रहेको किशोरले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७