काठमाडौंको धूलो र सडकको दूरावस्था थाहा छ : भौतिक पूर्वाधार मन्त्री नेम्वाङ

महासेठले भने, ‘मन्त्रालयले धेरै रेकर्ड तोडेको छ’


५ मंसिर २०७६, बिहीबार
Basanta nembang scaled

काठमाडौं, ५ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्ने प्रतिबद्ध जनाएका छन् ।

आजदेखि कार्यभार सम्हालेका मन्त्री नेम्वाङले विगतका कमी कमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न मन्त्रालयले जोड दिने बताए । मन्त्रालयमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई अगाडि बढाउने र समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौंलगायत विभिन्न क्षेत्रमा धुलो उड्ने, कालोपत्र उप्कनेलगायतका विविध समस्या यथावत रहेको आफूलाई जानकारी रहेकाले छिट्टै तिनको समाधानमा लाग्ने जनाउँदै मन्त्री नेम्वाङले सडक, रेल र यातायात विभागले गरेका काम कारवाहीका विषयमा अध्ययन गरेर उचित निर्णय लिने धारणा व्यक्त गरे ।

उनले भने, ‘जलमार्गका केही नीति बनिसकेका छैनन्, रेलमार्गका कुरा केही बन्दै गरेको छन् । राष्ट्रिय महत्वका योजना छन्, यी सबै काम द्रुत गतिमा लैजानु जरुरी छ ।’ मन्त्री नेम्वाङले विगतभन्दा धेरै कुराहरु सुधार आएको दाबी गर्दै त्यसलाई अझै तीव्रता दिने बताए ।
मन्त्रालयले धेरै रेकर्ड तोडेको छ : महासेठ
मन्त्रालयमा आज आयोजित कार्यक्रममा निवर्तमान मन्त्री रघुवीर महासेठले २० महिना आफूले मन्त्रीको हैसियतमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयले धेरै रेकर्ड तोडेको दाबी गरे ।
विगतमा एक वर्षमा ७२ वटाभन्दा बढी पक्की पुल बन्न नसकेकामा २०७४–७५ मा ८६ वटा बनेको जानकारी दिँदै उनले गत २०७५–७६ को असार १८ गतेसम्ममा २४३ वटा पुल बनिसकेको जानकारी दिए ।

महासेठले यस वर्ष ३०० वटा पुल निर्माणको लक्ष्य रहेको बताए । उनले मन्त्री नेम्वाङको कार्यकालमा आफूले बनाएको रेकर्ड तोड्ने विश्वास व्यक्त गरे । पहिले एक वर्षमा ६०० किलोमिटर मात्रै कालोपत्र हुने गरेकामा आव २०७४–७५ मा ९४५ किलोमिटर बनाएको र अहिले ९८८ किलोमिटर बनाउने योजना रहेकामा असारसम्ममा एक हजार किलोमिटर कालोपत्र भइसकेको बताए ।

उनले रेल्वे फागुन ७ गते सञ्चालन गर्ने सोच बनाइसकेको जानकारी गराउँदै नयाँ मन्त्रीले त्यो काम अघि बढाउने विश्वास व्यक्त गरे । पानीजहाजमा पनि नयाँ फड्को मार्ने क्रममा रहेको उनले बताए । यो वर्ष काठमाडौं उपत्यकालाई केन्द्रित गरेर कार्यक्रम अघि बढाएको जानकारी उनले दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७