प्रधानमन्त्रीको १० दिनको उपचार खर्च अढाई लाख


१९ मंसिर २०७६, बिहीबार
kp oli 1

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको १० दिनको उपचार खर्च दुई लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो ।

यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको थियो । यहाँ आईसीयू बेडको एक दिनको शुल्क एक हजार २५० रुपैयाँ छ ।

प्रधानमन्त्रीको उपचार खर्च एकमुस्ट हिसाब गरेर निकालिएको र सामान्य नागरिक सरहकै शुल्क लिइएको अस्पतालले जनाएको छ । १० दिनअघि एपेण्डिसाइटिसको अप्रेसन गरेका प्रम ओली १० दिनपछि आज डिस्चार्ज भएका छन् ।

गत वर्ष छातीमा ‘इन्फेक्सन’ भएर ५ दिन मनमोहन सेन्टर बस्दा साढे २५ हजार रुपैयाँ लागेको थियो । अस्पतालका निर्देशक उत्तमकृष्ण श्रेष्ठले भने, ‘यो पटक अप्रेसन गरेको भएकाले उपचार खर्च बढेको हो ।’

उपचारमा संग्लग्न एक चिकित्सकका अनुसार प्रम ओली अस्पतालको सेवा सुविधाप्रति खुशी भएका छन् । अस्पतालबाट बाहिरिँदा हात हल्लाउँदै निस्केका प्रम ओलीले अस्पतालका चिकित्सकलाई धन्यवाद समेत दिएका थिए । उनी निस्किदै गर्दा भने, ‘यो अस्पतालमा उपचार गर्न पाउँदा म धेरै खुशी छु । म ठीक भएर फर्केको छु ।’

चिकित्सकका अनुसार अप्रेसन गरेको बाहिरी घाउ निको भए पनि भित्री घाउ निको हुन केही समय लाग्नेछ । हिँडडुल गर्न तथा धेरै उठबस नगर्न प्रम ओलीलाई चिकित्सकहरुले सल्लाह दिएका छन् ।
‘अब काममा फर्कन सक्नुहुन्छ’

सन् २०१३ देखि निजी चिकित्सकका रुपमा काम गरिरहेकी डा. दिव्या सिंह प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको भित्री जानकार हुन् । उनका अनुसार शल्यक्रियाको घाउ निको हुने क्रममा छ । उच्च रक्तचाप र मधुमेह सन्तुलनमा छ । मिर्गौलाको ‘ट्रयाक लेभल भेरिफिकेशन’, यूरिन, प्रेसर, सुगर लगायत नियमित परीक्षण भइरहेको छ । रिपोर्टमा समस्या देखिनासाथ उपचार सुरु भइहाल्छ ।

सोही कारण प्रम ओलीको स्वास्थ्य अवस्थालाई लिएर डराउनु पर्ने अवस्था नभएको उनी बताउँछिन् । नियमित औषधि सेवन र केही दिन धपेडी कम गर्नासाथ ओली नियमित कार्यमा फर्कन सक्ने बताउँदै उनी भन्छिन्, ‘उहाँ स्वास्थ्यप्रति सचेत हुनुहुन्छ । काममा व्यस्त भए पनि खाना र औषधि समयमै लिनुहुन्छ । महत्वपूर्ण छलफल र बैठक हुँदा बीचमै औषधि खानुहुन्छ । आत्मविश्वास पनि उच्च छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७