अग्नि सापकोटालाई सभामुख बनाउन ओली-प्रचण्ड सहमत


५ माघ २०७६, आईतवार
aagni sapkota

काठमाडौं, ५ माघ । रिक्त सभामुख पदमा अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्षद्वयको बैठकले उनको नाममा सहमति जुटाएको स्रोतले जानकारी दिएको छ । बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त थियो । सभामुख उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र नै लामो समयदेखि किचलो देखिएको थियो ।

स्रोतका अनुसार अध्यक्षद्वयको बैठकमा ओलीले सभामुखको उम्मेद्वारका विषयमा सहमति नजुटे संसदीय दलबाट टुंग्याऊँ भनेर प्रस्ताव गरेका थिए ।

जवाफमा प्रचण्डले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि संसदीय दलबाटै निर्वाचनमार्फत टुंग्याउनुपर्ने प्रस्ताव राखेका थिए । त्यसपछि सभामुखमा सापकोटाको नाममा ओलीले सहमति जनाएको स्रोतको दाबी छ । आइतबार अपरान्ह ४ बजे बस्ने नेकपा सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७