राष्ट्रियसभामा कांग्रेस नाम मात्रैको प्रतिपक्ष


१० माघ २०७६, शुक्रबार
rastriya shabha national assambly election

काठमाडौं, ९ माघ । राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ । १८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो । दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ। विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ ।

प्रत्येक दुई वर्षमा एक तिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि बिहीबार निर्वाचन भएको हो । एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट पछि मनोनित हुनेछ । कांग्रेसका सातसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदैछ । नव निर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० पछि मात्र सुरु हुनेछ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट नेकपाका गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । अच्छामी दलिततर्फ, गौतम महिला र दाहाल अन्य समूहबाट निर्वा्चित भएका हुन् ।

प्रदेश २ मा नेकपा–राजपा गठबन्धनका उम्मेदवारले जितेका छन् । महिला समूहतर्फ नेकपाकी तुलसाकुमारी दाहाल र दलिततर्फ नेकपाकै राधेश्याम पासवान विजयी भएका छन् । अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह र अन्यतर्फ राजपाकै मृगेन्द्रकुमार सिंह यादव निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा नेकपाबाट महिला समूहतर्फ गंंगाकुमारी बेल्वासे र अन्यतर्फ वेदुराम भुसालले जितेका छन् । गण्डकीमा महिला समूहतर्फ नेकपाकी भगवती न्यौपाने र अन्यतर्फ नेकपाकै नारायणकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रदेश ५ मा नेकपाकै गोपाल भट्टराई, विमला घिमिरे र जगप्रसाद शर्मा निर्वाचित भएका छन् । कर्णालीबाट नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बीसी निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशबाट नेकपाकै उम्मेदवार विजयी भएका छन् । महिला समूहतर्फ शारदादेवी भट्ट र अन्यतर्फ तारामान स्वाँर निर्वाचित भएका हुन् ।

नयाँ परिणामपछि ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ५० जना (सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीन जना समेत) सांसद हुनेछन् । आफ्नो १३ सदस्य रहेको प्रमुख विपक्षी कांग्रेस ६ सिटमा खुम्चिने भएको छ । राजपाका दुई र फोरमका एक जना सांसद रहनेछन् ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा विपक्षी कांग्रेस नाम मात्रको प्रतिपक्ष बन्ने देखिन्छ । सरकारका कामकारबाहीमा अनुगमन, निर्देशन र नियन्त्रण गर्ने संसद्मा प्रमुख विपक्षीको भूमिका ‘निरीह’ बन्ने देखिन्छ ।

नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एक र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री डा. युवराज खतिवडा) को कार्यकाल फागुन २० मा सकिन लागेको हो । राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नेकपाले आठ सिट सुरक्षित राख्दै थप आठ सिटमा कब्जा जमाएको छ । नेकपासँग तालमेल गरेर राजपाले दुई सिट सुरक्षित गरेको छ । कांग्रेससँग गठबन्धन गरेको समाजवादीले एक सिट गुमाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका–नगरपालिकाका) का प्रमुख र उपप्रमुखले मतदान गरेका थिए । ७ सय ५३ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद मतदाता थिए।

स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदले दिने मतको भार भने फरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेश सांसदको मतको भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ ।

राष्ट्रियसभा निर्वाचन प्रणाली एकल संक्रमणीय हो । यसपटक भने प्रत्येक प्रदेशबाट (क्लस्टर) मा एक–एक जना मात्र निर्वाचित हुने हुँदा प्रत्यक्ष जस्तै भएको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले सांसद निर्वाचित हुन्छन् ।

तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन्। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलो पटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो । एकतिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । अब निर्वाचित हुनेको कार्यकाल ६ वर्षकै हुनेछ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७