कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३६० पुग्यो, संक्रमितको संख्या ७६ हजार २८८

इटालीमा पनि एकको मृत्यु, बुहानमा चार हजार शैंयाको अस्पताल तयार


१० फाल्गुन २०७६, शनिबार
korona buhan 1

बेइजिङ, १० फागुन । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसका कारण हालसम्म ज्यान गुमाउनेको संख्या दुई हजार ३६० पुगेको छ । कोरोनाबाट हालसम्म ७६ हजार २८८ मानिस संक्रमित भइसकेका छन् ।

युरोपेली मुलुक इटालीमा पनि कोरोना भाइरसका कारण शुक्रबार एक जनाको ज्यान गएको छ । इटालीयन टेलिभिजन आरएआईका अनुसार उत्तरी भेनेतो क्षेत्रका ७८ वर्षीय वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएका छ ।

इटालीमा कोरोना भाइरसका कारण मृत्यु भएको यो पहिलो घटना हो । चीनबाट फर्केका ३८ वर्षीय इटालियन युवामा पहिलो पटक जनवरी २१ मा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । शनिबार बिहानसम्म इटालीमा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीनमा घट्दै कोरोनाका संक्रमित
यसैबीच चीनमा कोरोना भाइरसको संक्रमण बिस्तारै कम हुँदै गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । शुक्रबार थप १०९ जनाको मृत्यु भएको तथा थप ३९७ जनामा संक्रमण देखिएको स्वास्थ्य आयोगले जनाएको छ ।

बिहीबार भने ११५ जनाको मृत्यु भएको थियो । शनिबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण दुई हजार ३४५ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै दुई हजार ३९३ जना अस्पतालबाट डिस्चार्ज भएको तथा निको हुनेको संख्या २० हजार ६५९ पुगेको समेत चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

चीन बाहिर इरानमा चार, जापानमा तीन, दक्षिण कोरिया र हङकङमा दुई–दुई, ताइवान, इटाली, फ्रान्स र फिलिपिन्समा एक–एक जना गरी १५ जनाको मृत्यु भएको छ ।

बुहानमा चार हजार शैंयाको नयाँ अस्पताल तयार
चीनको कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैंयाको अस्पतालको स्वरूप दिई संक्र्रमितहरूलाई सेवा दिन लागिएको चीनले जनाएको छ ।
कुल तीन हजार ६९० सीट क्षमताको अस्पताल निर्माण पूरा भएर बिहीबार परीक्षण भइसकेको निर्माणमा संलग्न एक कम्पनीले बताएको छ । अस्पताल ५४ हजार वर्ग किलोमिटरमा फैलिएको छ ।

कम्पनीका प्रमुख लि यिछानले कारखानालाई अस्पतालको स्वरूप दिँदा अस्पताललाई वातानुकूलित बनाइएको छ । अस्पतालमा नुहाउने कोठाहरू, मोबाइल, शौचालय, पुस्तकालय, मनोरञ्जन क्षेत्र र बिरामीहरूका लागि खाजाघर राखिएका छन् ।

कोरोना भाइरसको प्रकोपबीचमा शैंयाको अभावपछि वुहानले जिम, सम्मेलन केन्द्र वा प्रदर्शनी केन्द्रहरूलाई १२ वटा अस्थायी अस्पतालमा रूपान्तरण गरिसकेका छ । ती अस्पलालहरूको कुल २० हजार शैंयाबाट प्रायः कोरोना भाइरसको संक्रमणको आशंकामा त्यहाँ पुगेका बिरामीहरूलाई सेवा दिइँदै आएको छ ।

कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक
कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि आवश्यक कदम चाल्नका लागि भन्दै शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को राजनीतिक ब्युरोको बैठक बसेको छ । पार्टीका महासचिव राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बैठक बसेको थियो ।

दुई दिनअघि सीकै अध्यक्षतामा पार्टीको स्थायी समितिको बैठक पनि बसेको थियो । बैठकमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य र आवश्यक सामग्रीमा ध्यान पुर्‍याउने विषयमा छलफल भएको सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७