च्याउको सुकुटी, अचार र धुलोको माग धेरै


२७ फाल्गुन २०७६, मंगलवार
mosroom

दाङ, २७ फागुन । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएकी धनमाया बुढाले अहिले व्यावसायिक रुपमा च्याउ खेती गरिरहेकी छन् ।

च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि उनी आकर्षित भएकी हुन् । काँचो च्याउ बिक्री नहुने समयमा अचार, सुकुटी र च्याउको धुलो बनाउने गरेको उनले बताइन् ।

‘लामो समयसम्म राख्न सकिने भएकाले अहिले बजारमा धुलो, सुकुटी र अचारको माग धेरै नै छ, माग धान्नै सकिएको छैन’, बुढाले भनिन् । च्याउको बजार देखेपछि बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका–१६ झिगौरामा ‘जलजला च्याउ प्रशोधन केन्द्र’ समेत स्थापना गरेकी हुन् ।

रु एक करोड सात लाखको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री गर्ने गरिएको छ । ‘च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ, च्याउका विभिन्न परिकार बनाएर बिक्री गर्दा अझै फाइदा हुन्छ’, उनले भनिन् । बजारमा च्याउको माग बढ्दै गएको छ ।

उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ । घरमा खानका लागि बनाइएको च्याउ कहिलेकाहीँ बिक्री गर्दा ग्राहक नियमित रुपमा सोध्न आउने गरेपछि व्यावसायिक खेती गर्न थालेको उनले बताइन् । ‘च्याउको अचार र सुकुटी बजारको मागअनुसार पुर्‍याउन सकेका छैनौं’, बुढाले भनिन् । व्यवसायमा फाइदा देखेपछि बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेकी छन् ।

घोराही–१४ की कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा क्रियाशील रहेकी छन् । च्याउको बजार राम्रो देखेपछि उनी पनि च्याउ खेतीतर्फ आकर्षित भएकी हुन् । अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री गरिरहेकी छन् ।

‘गत वर्ष चार सय किलो च्याउ बिक्री गर्‍यौँ, च्याउको अचार र सुकुटी समेत बेच्दै आएका छौं’, उनले भनिन् । अचार र सुकुटी खरिद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । उनले सामूहिक रुपमा रु सात लाखको लगानीमा उक्त व्यवसाय शुरु गरेकी हुन् । दाङमा उत्पादन भएको च्याउ रुकुम, रोल्पा, प्यूठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ ।

कृषि ज्ञान केन्द्र दाङका शाखा अधिकृत भरतमणि पोखे्रलका अनुसार जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको छ । ‘च्याउको बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौं’, पोखरेलले भनिन् ।

जिल्लामा रहेका स्थानीय तहले पनि च्याउ खेतीका लागि तालीम तथा बीउ निःशुल्क वितरण गरेका कारण कतै एकल त कतै सामूहिक च्याउ खेती भइरहेको उनले बताइन् । जिल्लामा अधिकांश कृषकले दूधे च्याउ, गोब्रे र सीताकी च्याउ उत्पादन गर्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दाङका अधिकृत पोख्रेलले जानकारी दिइन् । घोराहीमा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७