कोरोना : अमेरिकामा फेरि बढ्यो मृत्तकको संख्या, २४ घण्टामै विश्वभर ५,७७२ को मृत्यु

विश्वभर २४ घण्टामै थपिए ८१ हजार नयाँ संक्रमित, हालसम्म १२ लाख ३९ हजार नौं सय निको


२४ बैशाख २०७७, बुधबार
cc732c2f4b5049ea8356d9645f0b8d27 cc732c2f4b5049ea8356d9645f0b8d27 5578d175f643411a8a4efa54dbeaf787

लण्डन, २४ बैसाख । कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या केहि कम भएपछि राहत महसुस गर्न थालेको अमेरिकामा फेरि कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या बढेको छ ।

विश्वमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमणबाट आक्रान्त बनेको अमेरिकामा संक्रमण मत्थर हुन लाग्दा लाग्दै फेरि यसबाट ज्यान गुमाउने र संक्रमित हुनेको ग्राफ बढ्न थालेको हो । विश्वव्यापी कोरोना भाइरस महामारीबाट मंगलबार विश्वभर पाँच हजार ७७२ जनाले ज्यान गुमाएका छन् ।

आज (बुधबार) विहानसम्ममा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर दुई लाख ५८ हजार १२ पुगेको लर्ल्डओमिटरले जनाएको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३७ लाख २४ हजार ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका ८१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । 

संक्रमितमध्ये अहिलेसम्म विश्वभर गरी १२ लाख ३९ हजार ९ सय जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार ३३५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२ हजार नाघेको छ ।

अमेरिकामा संक्रमितको संख्या १२ लाख ३७ हजार भन्दा धेरै पुगेको छ भने मंगलबार एकै दिन अमेरिकामा साढे २४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यस्तै बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६९३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या २९ हजार ४२७ पुगेको छ भने संक्रमितको संख्या एक लाख ९४ हजार ९९० पुगेको छ ।

त्यसैगरी मंगलबार ब्राजिलमा ५७८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने, फ्रान्समा ३३०, इटालीमा २३६, स्पेनमा १८५, क्यानाडामा १८९, पेरुमा १००, मेक्सिकोमा ११७, स्वीडेनमा ८५, नेदरल्याण्डमा ८६, बेल्जियममा ९२, इरानमा ६३, टर्कीमा ५९, रुसमा ९५, पाकिस्तानमा ३८ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म इटालीमा २९ हजार भन्दा धेरै, फ्रान्समा साढे २५ हजार भन्दा धेरै, स्पेनमा २५ हजार ६ सय भन्दा धेरैको कारोना संक्रमणबाट मृत्यु भइसकेको छ । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२७ जनाको मृत्यु भएको छ । त्यहाँ सोमबार १७५ जनाले ज्यान गुमाएका थिए ।

भारतमा अहिलेसम्म मृतकको संख्या एक हजार ६९३ पुगेको छ भने संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ । भारतमा मंगलबार एकै दिन दुई हजार ९६३ नयाँ संक्रमित थपिएका छन् । सोमबार भारतमा तीन हजार ९३२ जनामा संक्रमण देखिएको थियो ।

भारतमा अहिलेसम्म १४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । त्यहाँ ३३ हजार पाँच सय ६५ जना उपचारको क्रममा छन् । नेपालमा हालसम्म ८२ जना कोरोना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७