बाँकेका संक्रमित युवकको मृत्यु उपचार नपाएर, आफैले पढेको स्कुलको क्वारेन्टाइनमा फेरे अन्तिम श्वास


४ जेष्ठ २०७७, आईतवार
nepalgunj

बाँके, ४ जेठ । नेपालमा कोरोनाबाट ज्यान गएका दोस्रो व्यक्ति बाँकेका एक युवकको मृत्यु उपचारमा भएको हेल्चेक्र्याई र वेवास्ताका कारण भएको पाइएको छ ।

भारतबाट ६ दिनअघि आएर क्वारेन्टाइनमा बसेका उनले पटक–पटक आफूलाई समस्या भएको जानकारी गराउँदा पनि समयमा उपचार सेवा नपाएको पाइएको छ । स्वयम बिरामीले आफूलाई समस्या भएको जानकारी गराउँदा पनि समयमा उपचार सेवा नपाउँदा उनले अन्तिम श्वास आफैले पढेको स्कुलको क्वारेन्टाइनमा फेर्न वाध्य भएको देखिएको छ ।

क्वारेन्टाइनमा बसेका युवकको बारेमा जानकारले उनको मृत्यु रोगले भन्दा उपचार नभएर समयमा उपचार नपाएर भएको बताएका छन् ।

स्कुलमा बनाइएको क्वारेन्टनमा राखिएका उनले आफूलाई गाह्रो भएको बताइरहँदा पनि उनलाई अस्पताल पनि लगिएन । न त स्वास्थ्यकर्मीको टोली नै पुग्यो । उनी गत साता भारतको मुम्बईबाट फर्केका थिए ।

दशगजामा देश फर्किन पाऊँ भन्दै १२ दिनसम्म नारा लगााए । बल्ल देशको ढोका खुल्यो र ६ दिनअघि आफैं पढेको नरैनापुर–५ मटेहियाको भगवानपुरस्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा आएका थिए उनी ।

क्वारेन्टाइनमा राख्दै गर्दा उनको उनको अवस्था ठिकठाकै रहेको जानकारी दिंदै वडाध्यक्ष कृष्णचन्द्र मौर्य भन्छन्, ‘क्वारेन्टाइनमा लापरबाही भएपछि उनको ज्यान गयो ।’

आइतबार राति ३ बजे उनले क्वारेन्टाइनमा सँग रहेका साथीहरुसँग ‘मलाई बान्ता होला जस्तो भयो’ भनेका थिए । त्यो विद्यालय भवनमा उनीसहित ३९ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

‘बान्ता होला जस्तो भने पनि उनलाई बान्ता भएको थिएन । तर उनले श्वास फेर्न पनि गाह्रो हुन थाल्यो भनेका रहेछन्,’ बाँकेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले सुनाए । बिहान भएपछि हेरौंला भन्दा भन्दै उनलाई झन् झन् गाह्रो थाल्यो ।

बिहान ६ बजे क्वारेन्टाइनमा अहेब पुगे । तर, कोरोनाको लक्षण देखिएका उनलाई अहेवले उपचार गर्न सक्ने अवस्था रहेछ । एम्बुलेन्स बोलाएका थिए । तर गाउँपालिकाको एम्बुलेन्स सुत्केरी लिएर स्वास्थ्य चौकी गएको थियो । २४ बिघास्थित गंगापुर प्राथमिक स्वास्थ्य चौकी पुगेको एम्बुलेन्स ढिला गरी फर्कियो ।

के गर्ने कसो गर्ने भन्दाभन्दै बिहान साढे ६ बजे उनको मृत्यु भयो । वैशाख ३० गते नेपाल प्रवेश गरेका उनीहरुलाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो । यो गाउँपालिकाका ७५९ जना नेपाल प्रवेश गरेका थिए । तीमध्ये मृतकसहित ८ जनामा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनमा भएका सबै भारतबाट फर्किएका हुन् ।

मृतक युवा एक वर्षअघि रोजगारीका लागि भारत गएका थिए । कोरोनाले त्यहाँको पनि स्थिति राम्रो रहेन । आफ्नै ठाउँमा पुगे सहज होला भनेर फर्किएका उनको घर पुग्न नपाउँदै ज्यान गयो । उनलाई भारतबाट आएको थाहा पाउना साथ घरै नपुगी क्वारेन्टाइनमा लगिएको थियो ।

आइतबार दिउँसोको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्युको कारण कोरोना नै भएको पुष्टि गरेका छन् । नेपालमा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गइसकेको छ । दुवैको रिपोर्ट मृत्युपछि मात्रै आएको छ ।

यसअघि ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको पनि मृत्यु भइसकेपछि कोरोना परीक्षण गरिएको थियो । बाँकेका युवाले समयमा उति उपचार नपाएर ज्यान गुमाउनु परेको घटनाले सरकारको कोरोना उपचारको तयारीमा समेत प्रश्न उब्जाएको छ । नेपालमा अहिलसम्म कूल कोरोना संक्रमितको संख्या २९२ पुगेको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७