अन्न खेती गर्दा बाँदरले हैरान पारेपछि सिस्नो खेतीतिर


५ जेष्ठ २०७७, सोमबार
Sisno

दाङ, ५ जेठ । दाङको घोराही उपमहानगरपालिका– १ तेर्छे गाउँमा बँदेल र बाँदरले अन्नबाली खाएपछि स्थानीयवासीले सयौं हेक्टर जमीनमा खेती गर्न छाडे ।

मकै, कोदो, फापर, तोरी, जौ, गहुँलगायत बाली वन्यजन्तुले स्याहार्नै नदिएपछि स्थानीयवासीले वर्षाैदेखि जग्गा बाँझै छाडेका थिए । यस वर्षदेखि भने उनीहरुले वैकल्पिक खेतीका रुपमा अदुवा, पिंडालु र बेसार खेती शुरु गरेका छन् ।

स्थानीयवासी टेकन भण्डारीले गाउँलेले खेती गर्न छाडेका करीब पाँच बिघा जग्गामा यस वर्ष बेसार, पिंडालु र अदुवा खेती शुरु गरेको जानकारी दिए ।

‘यस वर्ष पाँच बिघामा खेती गरेका छौं’, भण्डारीले भने, ‘आगामी वर्षमा हामी गाउँमा कुनै पनि जमीन बाँझो राख्दैनौं, सबै जग्गाामा खेती गर्छौ ।’ यस वर्ष भण्डारीले उक्त स्थानमा छ क्विन्टल बेसार रोपिसके । तेर्छे गाउँमा व्यावसायिक अदुवा, बेसार र पिंडालु खेती गर्ने योजनामा रहेको भण्डारीले बताए ।

विश्वभर कोरोना महामारीको त्रास शुरु भए लगत्तै उनी भारतबाट घर फर्किएका थिए । मेहनत गरियो भने भारतमा कमाए जति यहीं कमाउन सकिने उनको विश्वास छ ।

उनी जस्तै स्थानीयवासी वसन्त भण्डारी पनि वन्यजन्तुले नोक्सान गर्न नसक्ने सिस्नो खेती गरी धुलो उत्पादन गर्ने योजनामा छन् । बजार क्षेत्रबाट सिस्नोको माग धेरै भएको हुँदा धुलो बनाउन शुुरु गरिएको उनले बताए ।

तेर्छे गाउँमा उत्पादित जैविक अदुवा, बेसार, पिंडालु र सिस्नोको धुलोको बजारीकरण दाङको घोराहीस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गर्ने भएको छ । सर्वोत्तम सहकारी संस्थाले सञ्चालन गर्न लागेको सहकारी सहुलियत बजारमार्फत उपभोक्तालाई दिने ती वस्तु योजनामा रहेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ को ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लागतमा सञ्चालन गर्न लागिएको उत्पादन लगेर बेचबिखन गर्ने योजनामा संस्थाले काम गरेको अध्यक्ष पौडेलको भनाइ छ ।

यस्तै प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत बंगलाचुुलीका विभिन्न गाउँमा अदुवा, बेसार र पिँडालु खेती शुरु गरिएको छ । ग्रामीण विकास कार्यक्रमका सहजकर्ता टीका बस्नेतका अनुसार अहिले बंगलाचुली –२ मर्पेसमा २८ क्विन्टल पिँडालु वितरण गरिसकिएको छ भने १६ क्विन्टल अदुवा किसानले रोपिसकेका छन् ।

बीउसँगै मर्पेसका २० घरपरिवारलाई प्राङ्गारिक मल र आवश्यक औषधि पनि दिइने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रले पनि घोराही उपमहानगरपालिका –१९को पहाडी भेगलाई गत वर्षदेखि अदुवाको पकेट क्षेत्र मानेको छ । यस्तै वडा नम्बर १२ को सिस्नेरीमा बेसार पकेट क्षेत्र र दंगिशरण गाउँपालिकाको फूलबारीमा ब्लक सञ्चालन गरिएको छ ।

केन्द्रले पकेट सञ्चालन गरेका क्षेत्रमा रु १४ लाख र ब्लग सञ्चालन भएका क्षेत्रमा रु ४० लाखका दरले अनुदान दिइएको ज्ञान केन्द्रका प्रचारप्रसार अधिकृत भरत पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७