४४ वर्षपछि फर्कियो सदरमुकाम


प्रकाशित मिति : October 6, 2017

काठमाडौँ : रुकुमकोटबाट जबर्जस्ती सदरमुकाम मुसीकोट सारिँदा रुकुमकोटका तारकबहादुर शाहको मन जति कुँडिएको थियो, बिहीबार उनै ७३ वर्षीय शाहको खुसीको सीमा थिएन । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट नै बनेपछि स्थानीयवासी हर्षित छन् ।आजको कान्तिपुरमा खवर छापिएको छ।

गृहमन्त्री जनार्दन शर्माले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धानलगायत सदरमुकाममा रहने कार्यालयको उद्घाटन गर्दै सदरमुकाम रुकुमकोट भएको घोषणा गरेका हुन् । रुकुमकोट सदरमुकाम बनेको खुसियालीमा सर्वसाधारणले मयूर, पैसेरु, पञ्चेबाजासहितका झाँकी प्रदर्शन गरेका थिए ।

४४ वर्षअघि जबर्जस्त सदरमुकाम मुसीकोट सारिँदा खिन्न बनेका शाहले सदरमुकाम फिर्ताको माग गरेकै कारण राजकाज मुद्दा लागेर एक वर्ष जेल बस्नुपरेको थियो । ‘आफू जुन कुराका लागि लडिएको थियो, त्यो पाइएपछि खुसी नहुने कुरै भएन,’ उनले भने, ‘झन्डै आधा दशकपछि जनताको मागको सम्बोधन भएको छ, हाम्रो आन्दोलनले सार्थकता पाएको छ ।’

संविधानमा पूर्वी र पश्चिम रुकुम भनेर उल्लेख गरिएपछि साविकको रुकुमलाई प्रदेश ५ र ६ मा राखिएको छ । त्यसैअनुसार नयाँ जिल्ला पूर्वी रुकुम कायम गरी त्यसको सदरमुकाम रुकुमकोट राखिएको हो । सीमा निर्धारण आयोगले प्रदेश ५ मा परेको भूभागलाई पूर्वी र प्रदेश ६ मा परेको भूभागलाई पश्चिम रुकुम जिल्ला भनेर निर्वाचन केन्द्रसमेत तोकिदिएको छ ।

तत्कालीन राजाको हुकुम र अञ्चलाधीशको जबर्जस्तीमा रुकुमकोटबाट सदरमुकाम सारिएको थियो । त्यसका लागि मुसीकोटका प्रधानपञ्चहरूले राजा र अञ्चलाधीशसँग ‘साँठगाँठ’ गरेका थिए । २०३० वैशाख १ गते बिहानै रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम जनताको इच्छाविपरीत मुसीकोट खलंगामा सारिएको थियो । ‘सदरमुकाम खोसेर लिइएको थियो,’ शाह ती दिन सम्झन्छन्, ‘सदरमुकाम सार्नुहुन्न भन्ने माग गर्दै सत्याग्रहको तयारीमा रहेका जनतालाई कुल्चिएर सदरमुकाम सारिएको पीडा बल्ल आज मेटियो

राजा महेन्द्रले २०१८ सालमा ३६ जिल्लालाई बढाएर ७५ वटा घोषणा गर्दा नयाँ बनाइएको रुकुम जिल्लाको सदरमुकाम रुकुमकोट तोकिएको थियो । २०१८ सालमा जिल्ला घोषणा र सदरमुकाम तोकिए पनि २०१९ सालदेखि मात्रै कामकाज सुरु भएको थियो । १२ वर्षसम्म सदरमुकाममा हुने सम्पूर्ण सेवा सुविधा घरदैलोमै पाएका रुकुमकोटवासीको अधिकार तत्कालीन राजा वीरेन्द्रले खोसिदिएको गुनासो रुकुमकोटवासीको छ ।

आफन्त र नातागोताको उक्साहटमा लागेर राजा वीरेन्द्रले २०२५ सालमा सुर्खेतमा भएको एक कार्यक्रममार्फत सदरमुकाम मुसीकोट सार्ने घोषणा गरेका थिए । घोषणापछि आक्रोशित रुकुमकोट तथा त्यस आसपासका बासिन्दाले सदरमुकाम नसार्न जति बिन्तीपत्र चढाए पनि त्यसको बेवास्ता भएको शोभा गाविस (हालको रुकुमकोट) का पूर्वअध्यक्ष हरिकृष्ण गौतमले बताए । ‘घोषणाको ५ वर्षसम्म सदरमुकाम सार्न नदिइए पनि अन्तत: राजाको बलजफ्तीका कारण सारियो,’ उनले सम्झिए । राजा वीरेन्द्रका नजिकका ‘आफन्त’ मुसीकोट खलंगामा थिए ।

प्रतिक्रिया दिनुहोस्