सामुदायिक विद्यालय निजीलाई जिम्मा दिने कार्यक्रम शिक्षा मन्त्रालयकाे प्रस्ताव होइन : शिक्षामन्त्री


१८ जेष्ठ २०७७, आईतवार
girirajmani pokharel

काठमाडौं, १८ जेठ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बजेट बक्तब्यमा उल्लेखित सामुदायिक विद्यालयको पूर्वाधारसहितका सामग्री र शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी निजी विद्यालयलाई दिने कार्यक्रम शिक्षा मन्त्रालयले प्रस्ताव नगरेको बताएका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेको बजेटको बुँदा नम्बर १६६ मा उक्त कार्यक्रम सार्वजनिक भएपछि शिक्षामन्त्री पोखरेलको अलोचना हुँदै आएको थियो ।

शिक्षामन्त्री पोखरेलले आज (आइतबार) विज्ञप्ति पजारी गर्दै उक्त कार्यक्रम शिक्षा मन्त्रालयले प्रस्ताव नगरेको प्रष्ट पारेका छन् । सरकारले निजी विद्यालयलाई सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने जिम्मा दिएर निजीकरणलाई प्रश्रय दिएको भनेर चौतर्फी विरोध भएको थियो ।

नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले समेत बजेट वक्तव्यमा आएको उक्त कार्यक्रमप्रति आपत्ति जनाएका थिए । नेकपाका अन्य नेता, सांसद, विद्यार्थी संगठन र शिक्षाविद्हरुले पनि सरकारलाई उक्त कार्यक्रम खारेज गर्न आग्रह गरेका थिए ।
मन्त्री पोखरेलले विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले प्रस्ताव नै नगरेको कार्यक्रम अर्थ मन्त्रालयबाट बजेटमा राखिएको बताएका छन् ।

शिक्षा मन्त्रालयबाट प्रस्तावित कार्यक्रम नभए पनि कार्यविधि बनाएर कार्यान्वयन गरिने मन्त्री पोखरेलले बताएका छन् । ‘सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरणका निम्ति गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुपमा विद्यालय व्यवस्थापन र स्वामित्व यथावत रहने गरी परिचलान गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक विद्यालयले आवश्यक ठहर गरेको विषयमा मात्र सहयोग गर्ने व्यवस्था मिलाउन कार्यविधि बनाउने समेत शिक्षामन्त्री पोखरेलले जनाएका छन् । ‘सार्वजनिक शिक्षाको सबलीकरण हामी सबैको साझा दायित्व हो, निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सार्वजनिक विद्यालयले आवश्यक ठहर गरेमा सरकारले एक मापदण्ड तयारी गरी निजी क्षेत्रको साझेदारीमा कोष स्थापना गर्ने विकल्पमा जान उपयुक्त हुन्छ,’ उनले भनेका छन् । उक्त कोष सामुदायिक विद्यालयको सुदृढीकरणका लागि परिचालन गर्न सकिने जनाइएको छ ।

उनले प्रारम्भिक बालविकासका शिक्षक र कर्मचारीले न्यून पारिश्रमिकमा काम गरिरहनु परे पनि बजेटमा सम्बोधन हुन नसकेको भन्दै गुनासो समेत गरेका गरेका छन् । सरकारले २०७६ मा जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने उल्लेख छ ।

उक्त विषयमा पुनर्विचार गर्नसमेत मन्त्री पोखरेलले अर्थमन्त्री खतिवडालाई विज्ञप्तिमार्फत नै आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीले पनि संसद्मा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘अदालतबाट समेत आदेश जारी भइसकेको छ, मन्त्रालयले बजेट निर्माणको क्रममा प्रयत्न गर्दा गर्दै पनि समावेश गर्न सकिएन, अर्थमन्त्री ज्युलाई पुनर्विचार गर्न आग्रह गरिसकेका छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७