बेवारिसे शवमा पनि भेटियो कोरोना संक्रमण, पर्साका थप पाँच जनामा संक्रमण


३१ जेष्ठ २०७७, शनिबार
death

वीरगञ्ज, ३१ जेठ । पर्सामा वेवारिसे शवमा पनि कोरोना संक्रमण फेला परेको छ । वीरगञ्जको घण्टाघरमा मृत फेला परेका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो ।

मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले जानकारी दिएको छ । शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ । यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ ।

तीन बर्षका बालकसहित पाँच जनामा कोरोना संक्रमण
शुक्रबार नै गरिएको परीक्षणमा पेड होटल क्वारेन्टिइनमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । १९ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज–५ कुम्हालटोल घर भएका १९ वर्षीय पुरुष भारतको आन्ध्र प्रदेश तिरुपति बालाजीबाट आएर होटल क्वारेन्टिनमा बसेका थिए । कुम्हालटोलकै ३४ वर्षीय अर्को पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई राति नै नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालको आईसोलेसनमा राखिएको संयोजक डा. उदय सिंहले जानकारी दिएका छन् ।

त्यसैगरी सखुवाप्रसौनी गाउँपालिकाका तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सखुवा प्रसौनी–२ गुलरिया बस्ने ३० वर्षीया महिला, ३ वर्ष र १५ वर्षको बालकमा कोरोना पुष्टि भएको छ ।

३ वर्षीय बालकलाई ज्वरो आएपछि देवरवाना क्वारेन्टिनबाट उनीहरुलाई वीरगञ्ज रिफर गरिएको थियो । शंकास्पद संक्रमितको रुपमा उनीहरुलाई गण्डक अस्पतालमै राखिएको थियो । पर्सा जिल्लामा यसअघि नै ५ जना भारतीयसहित १२१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७