सन् २०१७ मा सर्वाधिक कमाउने लेखक र उनका कृति


२१ आश्विन २०७४, शनिबार
Harry potter 2
 काठमाडाैं : लेखन ज्ञानको प्रस्फुटन हो । विशुद्ध सिर्जना हो । र, यो सोख पनि हो । यति हुँदाहुँदै कतिपय पुस्तकले लेखकको चर्चाको साथै उसको आर्थिकस्तर पनि वृद्धि गरिदिन्छ । कुनै वेला पुस्तक रेकर्ड तोड्ने ढंगले बिक्री हुँदा पुस्तक र लेखकको सदाबहार चर्चा हुन्छ । प्रस्तुत छ यस वर्षभरि नै चर्चा कमाउन सफल लेखक र सर्वाधिक कमाइ गरेका उनीहरूका कृति :

ह्यारी पोर्टरकी लेखिका जेके रोलिङ यस वर्षकै सबैभन्दा बढी कमाउने लेखिका हुन् । उनले ह्यारी पोर्टरको बिक्रीबाट यस वर्ष ९ करोड ५० लाख डलर कमाइ गरेकी छिन् । स्कटल्यान्डकी यी लेखिकाले प्रसिद्ध लेखकहरू डान ब्राउन, स्टेफेन किङ र जोन ग्रिसामलाई उछिन्दै यस वर्ष फोब्र्सको सर्वाधिक कमाउने लेखिकाको सूचीको पहिलो स्थानमा रहन सफल भएकी हुन् । उनका प्रशंसककहरूले उनको पहिलो पुस्तकको २०औँ वार्षिकी मनाइरहेका छन् । तीन सन्तानकी आमा रोलिङले आफ्नो दैनिकी जीविका गुजार्नेक्रममा अनौठो संसारका बारेमा लेखेकी थिइन्, जसले विश्वभर तहल्का मच्चाइदियो । ह्यारी पोर्टरको लोकप्रियताले उनलाई करोडपति बनायो र त्यसपछि उनले असंख्यक उपन्यास लेखेकी छिन् ।
ह्यारी पोर्टरको अहिलेसम्म विश्वभर विभिन्न भाषामा ४० करोडप्रति बिक्री भइसकेको छ । यो पुस्तक इतिहासमा नै सर्वाधिक बिक्री हुने पुस्तक बनेको छ । सोही पुस्तकमा आधारित रहेर फिल्म निर्माण भएका छन् । ‘तपाईंले जति सक्नुहुन्छ त्यति पढ्नुहोस् । यसले तपाईंलाई राम्रो लेखनमा सहयोग गर्छ र तपाईंले प्रयोग गर्ने शब्दमा निखारता ल्याउँछ,’ लेखिका जेके रोलिङ भन्छिन् । हलिउडका सर्वाधिक शक्तिशाली लेखकको सूचीमा उनी ११औँ नम्बरमा पर्छिन् ।

Harry potter

सन् १९४७ को मार्च २२ मा जन्मिएका अमेरिकी लेखक प्याटर्सन यो वर्ष सर्वाधिक कमाउने दोस्रो लेखक हुन् । उनको उपन्यास ‘वमिन मर्डर क्लब’ निकै कमाउन सफल भएको छ । उनका पुस्तक विश्वभर ३० करोडप्रति बिक्री भएका छन् । सन् २००६ देखि प्याटर्सन शीर्षकमा उनका पुस्तक प्रकाशित छन् । आफ्नै नाममा उपन्यासको शीर्षक राख्ने सम्भवतः उनी पहिलो लेखक हुन् । उनी अमेरिकाको न्युयोर्क टाइम्सको सर्वाधिक बिक्रीको सूचीमा लामो समय परेका थिए । उनको मुख्य पात्र मनोवैज्ञानिक हुन्छन् । उनले १० लाख अनलाइन बिक्री गरेर गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन् । विज्ञापनदाताका रूपमा करिअर सुरु गरेका प्याटर्सनको पहिलो उपन्यास ‘मिसेज ब्रिज’ हो । त्यसपछि उनले १ सय १४ वटा वेस्ट सेलर लेखिसकेका छन् । यो वर्ष उनले पुस्तक वमिन मर्डर क्लबबाट ८ करोड ७० लाख डलर आम्दानी गरेका छन् ।
वमिन मर्डर क्लब ः अपराधको अनुसन्धान गर्न विभिन्न पेसामा आबद्ध एउटा महिलाहरूको समूहबारे यो उपन्यास केन्द्रित छ । विभिन्न पेसाका यी महिलाले अपराध अनुसन्धान गर्छन् । विभिन्न शृंखलामा लेखिएको सो उपन्यासका मुख्य पात्र लिन्डसे बक्स, सिन्डी थोमस, क्लेरी वासबर्न, जिल वर्नहार्ट नाम गरेका युवतीहरूले समाजका विभिन्न क्षेत्रमा भएका अपराधलाई स्वःस्फूर्त अनुसन्धान गर्छन् । दुईवटाबाहेक सबै पुस्तक न्युयोर्क टाइम्सको सर्वाधिक बिक्रीको सूचीमा परेको थियो । प्रतिस्पर्धी जोन ग्रिसामले किताब बिक्रीमा एकछत्र राज गरेपछि प्याटर्सनले दी वमिन मर्डर क्लब लेखेको न्युयोर्क टाइम्सले टिप्पणी गरेको छ ।

जेफ किन्नेको जन्म सन् १९७१ मा अमेरिकाको म्यारिलेन्डमा भएको थियो । उनी सन् १९९० को दशकमा विश्वविद्यालय भर्ना भएका थिए । जेफले क्याम्पसमा कार्टुन पत्रिका इग्डोफ सञ्चालन गरे, तर, त्यसबाट खासै सफलता पाउन सकेनन् । किन्नेको कार्टुनिस्ट बन्ने सपना थियो, तर नचाहँदा नचाहँदै चर्चित लेखक बने । उनले सन् १९९८ मा माध्यमिक तहमा अध्ययन गर्ने एक अशक्त विद्यार्थी ग्रेज हेफका बारेमा लेख्न सुरु गरेका थिए । तर, प्रकाशककहाँ पु¥याउनुअघि उनले करिब ८ वर्ष सो पुस्तक लेख्दै खर्चे ।
डायरी अफ ए विम्पी किड डायरी अफ विम्पी कडी पहिलोपटक सन् २००७ मा प्रकाशित भएको थियो । सन् २००८ मा अमेरिकामा मात्र १ लाख कपी छापिएको थियो । अहिले विश्वभर यो पुस्तकको १८ करोड कपी छापिसकिएको छ । यो पुस्तक न्युयोर्क टाइम्सको बेस्ट सेलर सूचीमा लामो समय रहन सफल भयो । अहिलेसम्म यो पुस्तक ५२ भाषामा प्रकाशित भएको छ । पुस्तकले क्षेत्रीय तथा राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । जेफ किन्ने टाइम म्यागेजिनको प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएका छन् । यो पुस्तकमा आधारित ३ वटा फिल्म बनेका छन् । पुस्तकबारे नयाँ फिल्म यही मे महिनामा सार्वजनिक भएको थियो ।
अहिलेसम्म ८ करोड मानिसहरूले अनलाइनमा यो पुस्तक पढेका छन् । यो पुस्तक दैनिक ७० हजार बालबालिकाले पढ्छन । पुस्तकबाट उनले यो वर्ष २ करोड १० लाख डलर कमाएका छन् ।

Harry potter 2

डान ब्राउन अमेरिकी लेखक हुन् । उनले लेखेका विभिन्न कृतिमध्ये दा भिन्सी कोड यस वर्ष सर्वाधिक कमाइ गर्ने पुस्तकको चौथो नम्बरमा परेको छ । यो पुस्तक ५२ भाषामा अनुवाद गरिएको छ । अहिलेसम्म यो पुस्तक २० करोड बिक्री भइसकेको छ ।
द भिन्सी कोड धार्मिक विषयमा केन्द्रित उपन्यास हो । उपन्यासमा एक निर्वस्त्र व्यक्तिको शरीरपछाडि रहस्यमय सन्देश लेखिएको छ । उनको छातीमा एउटा पञ्चकोण छ, जसलाई रगतले रंग्याइएको छ । उपन्यासले वैकल्पिक धार्मिक इतिहास अन्वेषण गरेको छ । फ्रान्सको मेरोभिन्जियन राजतन्त्रको वंश जिसस क्राइस्ट र मेरीको पुर्खाबाट आएको उल्लेख छ । पुस्तकले रोमन क्याथोलिक चर्चको आलोचना गरेको भन्दै केही व्यक्तिले विरोधसमेत गरेका थिए । यो पुस्तक ८ करोडप्रति बिक्री भइसकेको छ । यो वर्ष मात्र यो पुस्तकबाट २ करोड डलर कमाइ भएको छ ।

प्रसिद्ध अमेरिकी लेखक स्टेफेन किङ थ्रिलर, साइन्स, फिक्सन र काल्पनिक विषयमा लेख्छन् । उनका कतिपय पुस्तकलाई फिचर फिल्म, टेलिभिजन मुभी बनाइएको छ । उनका पुस्तकमध्ये दी स्ट्यान्ड, दी साइनिङ, क्यारी र इट असंख्य भाषामा चलचित्र बनाइएको छ । किङले ५० उपन्यास लेखेका छन् । उनले सातवटा उपन्यास र पाँचवटा पुस्तक रिचार्ड व्याचमानको छद्म नाममा लेखेका छन् । उनले झन्डै २०० साना कथाहरू लेखेका छन् । उनले अमेरिकाको ग्रान्ड मास्टर अवार्डलगायत असंख्य पुरस्कार प्राप्त गरेका छन् ।
दी डार्क टावर यस वर्षभरि नै चर्चामा छ । यस पुस्तक बिक्रीबाट मात्र उनले १ करोड ५० लाख डलर कमाएकी छिन् । दी डार्क टावर ८ पुस्तकहरूको शृंखला हो । आठवटै पुस्तकका भिन्नाभिन्नै काल्पनिक थिम लेखिएका छन् ।

Harry potter 4 5
यस वर्षको सर्वाधिक कमाउने अमेरिकी वकिल, राजनीतिज्ञ तथा लेखक ग्रिसम पनि एक हुन् । पूर्णकालीन रूपमा लेखनमा संलग्न हुनुुअघि ग्रिसमले आपराधिक कानुनको अभ्यास गरे र मिसिसिपीबाट अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सदस्यमा निर्वाचित भएका थिए । उनले सन् १९८९ मा प्रकाशित गरेको ‘ए टाइम टु किल’ २० करोड ५० लाखप्रति बिक्री भएको छ । सो पुस्तकलाई २९ भाषामा प्रकाशित गरिएको छ । सन् १९९३ मा फिल्म बनाउनुअघि उनले लेखेको दी फर्मको ७० लाख कपी बिक्री भएको थियो । उनका अन्य ८ वटा उपन्यासहरूलाई फिल्म बनाइएको छ ।
दी इनोसेन्ट मेन गैर उपन्यास हो । सन् २००६ मा प्रकाशित यस पुस्तक रोनाल्ड रोन केथ नाम गरेका एक सामान्य व्यक्तिको विषयमा केन्द्रित छ । पूर्व बास्केटबल खेलाडीसमेत रहेका रोनाल्डलाई सन् १९८८ मा बलात्कार र हत्या अभियोगमा मृत्युदण्ड दिइएको थियो । तर, ११ वर्ष जेल जीवन बिताएपछि डिएनए प्रमाणले उनी निर्दोष सावित हुन्छन् र सन् १९९९ मा रिहा हुन्छन् । उनी आफ्नै गृहनगरमा फर्किन्छन् र बेसबलमै रमाउँछन् । उनको कुममा ठूलो चोट लाग्छ, जसका कारण उनी लिग खेल्नबाट वञ्चित हुन्छन् । असफलतासँगै उनी बिस्तारै डिप्रेसनको सिकार हुन्छन् र पिउन थाल्छन् । सन् १९८२ मा एक युवतीको बलात्कारपछिको शंकास्पद हत्यामा प्रहरीले विलियम र उसको जँड्याहा साथी डेनिस फ्रिजलाई पक्राउ गर्छ । विलियमलाई मृत्युदण्ड र प्रिजलाई जन्मकैदको फैसला सुनाइन्छ ।
ग्रिसमको पुस्तकले अमेरिकाको प्रहरी विभागको आक्रामक र गलत मिसन चित्रण गरेको छ । प्रहरी र अभियोजनकर्ताले निर्दोष व्यक्तिलाई जबरजस्ती स्विकारोक्ति गर्न लगाउने, झुट विवरण सार्वजनिक गर्ने र कपोलकल्पित प्रमाण जुटाउने विषयलाई पुस्तकमा सांकेतिक रूपमा प्रस्तुत गरेका छन् । अभियोजनको विश्वसनीयतामाथि प्रश्न खडा गरेका छन् । यस पुस्तकबाट उनले यो वर्ष १ करोड ४० लाख कमाइ गरेका छन् ।

रोवर्टस रोमान्टिक उपन्यासको क्षेत्रमा चर्चित नाम हो । उनले लेखेका उपन्यासहरूमध्ये २०९ वटा रोमान्टिक उपन्यास सर्वाधिक बिक्री भइसकेका छन् । उनले जिल, मार्चा र सारह हार्डस्टेलगायतका छद्म नाममा उपन्यास लेख्ने गरेकी छिन् । न्युयोर्क टाइम्सको बेस्ट सेल लिस्टमा उनका नोभेल ८६१ सातासम्म रहेका छन् । उनका उपन्यासका ४० करोड कपी छापिएका छन् । जेन्युन लाइज, स्टार्स अफ फच्र्युन, दी नेक्स्ट अलवेज र ब्ल्याक हिल उनका चर्चित कृति हुन् । उनको चर्चित कृति इयर वनले यस वर्ष १ करोड ४० लाख डलर कमाएको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७