नेकपाका दुई अध्यक्षबीच फेरि कटाक्ष, पार्टीको समस्या भन्दा ओली–दाहाललाई आफ्नै पीर


११ असार २०७७, बिहीबार
dahal oli bibad 2562020035052 1000x0 1

काठमाडौं, ११ असार । नेकपाका अध्यक्षद्वयलाई थाहा छ, आफूहरूबीच गहिरो समस्या छ । तर उनीहरूले त्यो समस्याको जड आफैं हो भन्ने स्वीकार्न नसक्दा एकीकृत पार्टीभित्रको मतभेद झन बढ्दै गइरहेको छ ।

एकअर्काविरुद्ध हस्ताक्षर अभियान समेत सञ्चालन गरिवरी यसले पार नलाग्ने भयो भन्ने सोचेर फेरि मिलनबिन्दु पहिल्याउने अध्यक्षद्वयको सहमति उनीहरूकै व्यवहार र शैलीले भंग गरिदिएको छ ।

बैठकमा अध्यक्षद्वयले मन्तव्यको अधिकांश समय एकअर्कासँग गुनासो गरेरै बिताए । पुराना सहमति, समझदारी तथा पार्टी र सरकारका काम सम्झिए, आपसमा समन्वय नहुँदा पार्टी र सरकार झन ओरालो लागिरहेको बताए ।

प्रधानमन्त्री ओली, उनको मन्त्रिपरिषद्का सदस्यहरू र उनीनिकट मानिने नेताहरू बाहेकले सरकारका काम र त्यसको तौरतरिकालाई रुचाएका छैनन् । सरकार गठन भएयताका साढे दुई वर्ष प्रधानमन्त्री ओली र उनीवरिपरिका केही व्यक्तिको तजबिजमा मात्रै सरकार चलिरहेको र त्यसले पार्टी र सरकार दुवैको बदनाम भइरहेको गुनासो नेकपाभित्रै छ ।

स्थायी कमिटीको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका कामको फेहरिस्त सुनाउँदा वरिष्ठ नेता माधव नेपालले हस्तक्षेप गरेर भने, ‘सरकारले धेरै काम गरेको छ भनेर बखान नगरे हुन्छ, सडकका खाल्डाखुल्डी हेर्ने हो भने मेरै निर्वाचन क्षेत्र साँखुमा जाँदा हुन्छ ।’

प्रधानमन्त्री ओलीले भने सरकारले व्यापक काम गरिरहेको बताए । पार्टीभित्रैबाट सरकारको बदनाम गरिएको उनको गुनासो छ । ‘सरकारले जुन काम थाले पनि भ्रष्टाचार भयो भनेर प्रचार गरिएको’ उनको भनाइ थियो ।

ओली नेतृत्वको सरकार गठन भएयता पार्टीको सल्लाह बिनै सरकार चलाएको, एकलौटी निर्णय गरेको र केही व्यापारिक घरानासँग विवादास्पद साँठगाँठ गरेको लगायत विषयमा पार्टीभित्रै र बाहिरबाट पनि व्यापक आलोचना भइरहेको छ ।

पछिल्लो पटक स्वाथ्य सामग्री खरिदमा नेपाली सेनाको संलग्नता, स्वास्थ्य सेवा विभागले स्वास्थ्य उपकरण ल्याउँदा विवादास्पद ओम्नी कम्पनीलाई दिएको ठेक्का, यति समूहसँग सरकारको निकटतालगायत विषयले सरकारको विवादास्पद छवि उजागर गरेको टिप्पणी नेकपाभित्रै छ । यिनै कुरालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारका बारेमा पार्टीभित्रैबाट गलत प्रचार गरिएको गुनासो गरेका हुन् ।

‘हामीले काम गरेका छौं, विकास निमार्णको काम गरेका छौं, कोरोना नियन्त्रणमा यो सरकारले गरेको काम उत्कृष्ट छ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अन्तर्राट्रिय रूपमा विरोध त भएको थियो थियो, पार्टीभित्रैबाट पनि घेराबन्दीमा पार्ने काम भयो, सरकारविरुद्ध साथीहरू गुट नै बनाएर सक्रिय हुनुभयो ।’ उनले सरकारले काम गर्न खोज्दाखोज्दै पनि केही कमी–कमजोरी भएका छन् भने पार्टीभित्रै छलफल गरेर सच्याउन आफू तत्पर रहेको तर त्यसलाई पार्टीका नेताहरूले नबुझेको बताएका थिए ।

केहीअघिको संवादमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले भनेका थिए, ‘पार्टीमा समस्या हुँदा दुई अध्यक्षले समाधान गर्ने हो, दुई अध्यक्षबीच नै समस्या हुँदा कसले समाधान गर्ने ?’ सम्भवतः पार्टीभित्रको गुटबन्दी र दुई अध्यक्षबीच चलिरहेको द्वन्द्वको आँकलन गरेरै भुसालले यसो भनेको हुनुपर्छ । उनले भनेझैं नेकपाका दुई अध्यक्षबीच गहिरो समस्या छ भन्ने अनुमानको पुष्टि अध्यक्षद्वयले नै गरेका हुन् ।

जसरी अध्यक्ष ओलीले सरकारमाथि आक्रमण भइरहेको भन्दै दुस्खेसो पोखे । त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणयताका बक्यौता सहमतिहरू पूरा नभएको भन्दै गुनासाको पोको फुकाए । ‘कताकता मलाई पार्टी एकीकरणका बेला सरकारको नेतृत्व आवश्यकताका आधारमा आलोपालो गर्ने भन्ने सहमतिबाट पछि हटेर गल्ती त गरिनँ भन्ने पनि लाग्छ,’ बैठकमा दाहालले भने । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७