कोभिड–१९ : डेढ सय भन्दा बढी औषधिमा अनुसन्धान


१४ असार २०७७, आईतवार
korona

काठमाडौं, १४ असार । कोभिड–१९ महामारी फैलिएको ६ महिनाभन्दा बढी भयो । रोगविरुद्ध खोप र औषधि तयार नभई सकेकाले महामारी नियन्त्रणमा आउन सकेको छैन । यसविरुद्ध डेढ सयभन्दा बढी औषधिमाथि अनुसन्धान भइरहेका छन् ।

–संक्रमणको सुरुदेखि नै कोरोना भाइरसविरुद्ध सम्भाव्य खोप र औषधिबारे अध्ययन–अनुसन्धान तीव्र बनाइएको छ ।

–हालसम्म अनुसन्धान भएका औषधिमा कोरोनाविरुद्धका कुनै न कुनै गुण पाइएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाइमा अमेरिका, बेलायत, चीनलगायत मुलुकका विज्ञ र वैज्ञानिक अनुसन्धानरत छन् ।

–पछिल्लो समय अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान टोलीले डेक्सामेथासोन नामक औषधिलाई आइसियू र भेन्टिलेटरमा रहेका बिरामीको ज्यान बचाउन सबैभन्दा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

–बेलायतका वैज्ञानिकहरूले निकालेको यस निष्कर्षलाई कोभिड–१९ माथि विजय पाउन ठूलो उपलब्धि मानिएको छ । सन् १९६० को दशकमा गठिया र दमको उपचारका लागि तयार पारिएको डेक्सामेथासोन कोभिड–१९ विरुद्ध पनि उपयोगी हुने मानिएको छ ।

–डेक्सामेथासोन संसारभर सहजै उपलब्ध छ, र गरिब मुलुकका नागरिकका लागि सस्तो पनि । तर, यो संक्रमण रोकथाम र सामान्य अवस्थाका बिरामीका लागि कति उपयोगी छ भन्ने स्पष्ट भइसकेको छैन ।

–संसारभरका वैज्ञानिक बिरामीको रगत परीक्षणमा केन्द्रित छन् । एन्टिभाइरल औषधिले शरीरमा कोरोना भाइरस फैलिन रोक्न सक्छ कि सक्दैन भन्नेमा उनीहरू केन्द्रित छन् । यो नै अनुसन्धानको मुख्य विषय पनि हो ।

–संक्रमण नियन्त्रणमा शरीरको एन्टिबडीलाई मुख्य आधार मानिएको छ । बिरामीको रगत वा ल्याबमा बनाइएको एन्टिबडीले भाइरसको आक्रमण रोक्न सक्ने विश्वासमा वैज्ञानिक छन् ।

–भाइरस नियन्त्रणका लागि मानिसको रोगप्रतिरोधी क्षमता मजबुत हुनुपर्नेमा वैज्ञानिकहरू सहमत छन् । तर, भाइरस संक्रमणपछि रोगप्रतिरोधी क्षमता नै अति सक्रिय भएर शरीरमा प्रतिकूल प्रभाव पार्ने विषयले वैज्ञानिकहरूलाई चुनौती दिएको छ ।

–कोरोना भाइरसको प्रकृतिबारे अझै धेरै जानकारी आउन बाँकी रहेकाले संक्रमण रोकथाम र उपचारका लागि औषधि र खोप आउन अझै केही समय पर्खिनुपर्ने वैज्ञानिकहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७