बार्सिलोनाको शानदार जीत, उपाधि होड रोचक बन्दै


२३ असार २०७७, मंगलवार
suarez barcelona 20190915013308

काठमाडौं, २३ असार । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा ४–१ गोलले हरायो । यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी चार अंकले घटाएको छ ।

ला लिगामा अब चार खेल बाँकी रहँदा ला लिगाको उपाधि होड पनि रोचक बन्दै गएको छ। उपाधि दौडमा रियल र बार्सिलोना अगाडि छन् । रियल अझै बलियो अवस्थामा छ । आइतबार राति नै भएको खेलमा रियलले एथलेटिक बिल्बाओलाई १–० गोलले स्तब्ध बनाएको थियो । बार्सिलोनालाई उपाधि रक्षा गर्न अब सबै खेल जित्नुपर्ने बाध्यता छस जसमा रियलले अंक गुमाउँदै जानुपर्ने छ ।

बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोइन ग्रिजम्यान र अन्सु फातीले गोल गरे। बार्सिलोनाले अर्को गोल आत्मघाती रूपमा उपहार पाएको थियो । भिल्लारियलका जेरार्ड मोरेनोले सान्त्वना गोल गरेका थिए। बार्सिलोनाले खेल सुरु भएको तेस्रो मिनटमै आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो ।

बल बचाउने क्रममा भिल्लारियलका पाउ टोरेसको प्रहार आफ्नै पोस्टमा छिरेको थियो । त्यसपछि भिल्लारियलका जेरार्डले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीपछि जोसिएको बार्सिलोनाले २०औं मिनेटमा पुनः अग्रता लियो । स्वारेजले कप्तान लियोनल मेसीको पासमा गोल गर्दै बार्सिलोनालाई अगाडि बढाएका थिए ।

४५ औं मिनेटमा ग्रिजम्यानले मेसीकै पासमा गोल गर्दै बार्सिलोनालाई थप बलियो बनाए । ६९औं मिनेटमा मेसीले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा मान्यता दिइएन । ८६औं मिनेटमा युवा स्टार अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । ७२औं मिनेटमा ग्रिजम्यानको स्थानमा मैदान छिरेका फातीले जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।

भिल्लारियलले राम्रा अवसर बनाए पनि थप गोल गर्न सकेन । जितसँगै बार्सिलोनाले ३४ खेलबाट ७३ अंक बनाएको छ । भिल्लारियल ५४ अंकसहित पाँचौं स्थानमा छ । शीर्ष स्थानमा रहेको रियलको समान खेलबाट ७७ अंक छ ।

आइतबार राति भएको खेलमा रियललाई जिताउन सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । बिल्बाओका ड्यानी गार्सियाले मार्सेलोलाई डिबक्सभित्र लडाएपछि रेफ्रीले भीएआरको सहायतामा रियललाई पेनाल्टी दिएका थिए ।

त्यसलाई रामोसले सही सदुपयोग गरे। ला लिगामा यस सिजन रामोसले १० गोल गरेका छन् । खेलभर रियललाई बलियो टक्कर दिएको बिल्बाओले गोल फर्काउन भने सकेन । ४८ अंक बनाएको बिल्बाओ तालिकाको आठौं स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा लेगानेसले स्पान्योललाई १–० गोलले स्तब्ध बनायो । लेगानेसको जितमा जोनाथन क्रिस्टियन सिल्भाले ५३औं मिनेटमा गोल गरेका थिए । जितसँगै २८ अंक बनाएको लेगानेस १९औं स्थानमा छ । लेगानेससँगै अन्तिममा रहेको स्पान्योल पनि रेलिगेसनको मारमा छ । अर्को खेलमा गेटाफे र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७