प्रदेश प्रहरीलाई थप अधिकार दिने तयारी


२७ असार २०७७, शनिबार
IGP Thapa2020 07 09 08 29 59

काठमाडौं, २७ असार । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको काम–कारबाही विकेन्द्रीकरण गर्ने तयारी गरेका छन् । प्रदेश प्रहरी प्रमुखहरूलाई थप अधिकार दिने उनको तयारी छ ।

सातै प्रदेशका प्रहरी प्रमुखहरूसँगको बैठकमा शुक्रबार उनले थप अधिकार दिने बताएका छन् । प्रहरी प्रदेश प्रमुखले आफ्नो प्रदेशभित्र इन्स्पेक्टरसम्मको सरुवा गर्न सक्ने अधिकार दिन लागिएको छ ।

त्यस्तै, पुरस्कारका लागि सिफारिसलगायत थप अधिकार दिन लागिएको उनले जानकारी दिएका छन् । प्रदेश प्रहरी प्रमुखलाई अधिकारसँगै थप जिम्मेवारी थपेर उत्तरदायी बनाउने उनको भनाइ छ ।

प्रहरी केन्द्रीकृत शैलीमा सञ्चालन हुँदै आएकोमा त्यसलाई विकेन्द्रित बनाई प्रदेशदेखि अन्य कार्यालयलाई जिम्मेवार दिने उनको तयारी छ । प्रहरीमा महानिरीक्षक अत्यधिक शक्तिशाली हुने, तर अन्य उच्च अधिकारीलाई कुनै जिम्मेवारी नै नहुने परम्परालाई उनले सुधार गर्न लागेका छन् । बिहीबार पदबहाली गरेसँगै महानिरीक्षक थापाले आफू सामूहिक निर्णयमा अघि बढ्ने बताएका थिए ।

‘नेपाली सेनासँग नयाँ सम्बन्धको सुरुवात’
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय पुगेर नवनियुक्त महानिरीक्षक थापालाई बधाई र शुभकामना दिएका छन् । यसरी सेना प्रमुख प्रहरी प्रधान कार्यालय गएर महानिरीक्षकलाई बधाई दिएको यो पहिलो पटक हो ।

भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुवै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफलसमेत भएको प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बताए ।

भेटमा प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रूपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेका थिए भने प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनोस्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।

यो भेटलाई दुई सुरक्षा निकायबीच प्रहरी अधिकारीहरूले नयाँ सम्बन्धको सुरुवात भनेका छन् । पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय सुरक्षाका दुई स्तम्भ नेपाली सेना र नेपाल प्रहरीबीचको आपसी भाइचाराको लामो इतिहास छ ।

प्रधानसेनापति स्वयं नव नियुक्त प्रहरी महानिरीक्षकलाई बधाई दिन प्रहरी प्रधान कार्यालय पुग्नुले प्रधान सेनापतिज्यूको विशाल हृदयको परिचय दिनुका साथै नेपाल प्रहरीप्रतिको आत्मीयता पनि प्रदर्शन गरेको छ । स्नेह, प्रेम र भाइचाराको शक्ति नै सबैभन्दा ठूलो शक्ति हो ।’ यो कदमले दुई सुरक्षा निकायबीच सहकार्य बढ्ने प्रहरी अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७