संखुवासभामा ९ घर बगे, निद्रामै ११ बेपत्ता


२९ असार २०७७, सोमबार
Sankhuwasava

संखुवासभा, २९ असार । लगातारको झरीसँगै पहिरो खस्दा सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् ।

शनिबार राति करिब १ बजे भएको घटनामा ११ जना बेपत्ता भएका छन् भने ४ जनाको स्थानीयले जीवितै उद्धार गरेका छन् । भिरालो पाखामा रहेको बेसिन्दा गाउँमा ८६ परिवारको बसोबास थियो । मध्यरात ठूलो आवाजका साथ पहिरो खसेका बेला सबै निन्द्रामा रहेको ७९ वर्षीय गोवासिंह राईले बताए ।

पहिरोमा खसेर घरमै पुरिएको अवस्थामा उद्धार गरिएका राई गम्भीर घाइते छन् । स्थानीय हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते गोवासिंहसँगै, भीमसरी राई, फूलमाया र भीमबहादुर राईलाई जीवितै उद्धार गरिएको हो ।

पहिरोमा परेकालाई गाउँलेले उद्धार थाल्दा सुरक्षाकर्मीको टोली पुगिसकेको थिएन । घटनापछि ३ सय ४९ जना गाउँलेलाई उद्धार गरेर डेढ घण्टा टाढाको चित्रेमा स्थानीय विद्यालय र स्थानीयका ४र५ वटा घरमा राखिएको छ ।

एक साताको झरीले भिरालो जमिनमा पहिरो खसेको हो । घर बगाएर घाइते अवस्थामा उद्धार गरिएका ७९ वर्षीय गोवासिंहले ठूलो आवाजमा पहिरो एकैपल्ट झरेको बताए । उनी हात र टाउकोमा डुंगाले लाग्दा गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा उद्धारका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुगेको छ । आइतबार दिनभर पानी परिरहेकाले घाइतेको उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

७० वर्षीय जुद्धबहादुर राईकी श्रीमती ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति पहिरोमा बेपत्ता छन् । करिब सय मिटर माथिबाट घरमै खसेको पहिरोमा परि उनीहरू बेपत्ता भएका हुन् ।

घटनाका बेला जुद्धबहादुर घरमा थिएनन् । घरभन्दा २ दिन टाढा बेवानामा रहेको भेडीगोठमा गएकाले जुद्धबहादुर जोगिए पनि घटना थाहा पाएपछि गहिरो चिन्तामा छन् । पहिरोमा परेर श्रीमती र छोरी बेपत्ता भएको खबर उनले घटनाको झन्डै १२ घण्टापछि आइतबार दिउँसोमात्रै पाए ।

संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार पहिरोमा परेर ६० वर्षीय राममान राई, उनकी ५५ वर्षीया पत्नी हस्तकुमारी, छोरीहरू २१ वर्षीया एन्जिला र ११ वर्षीया नम्रता राई हराइरहेका छन् । एन्जिला गर्भवती थिइन् । ५२ वर्षीय जुद्धबहादुर माने (राई) र श्रीमती ४५ वर्षीया उत्तरकुमारी, ७० वर्षीया नजमाया, ८४ वर्षीय हर्कराज र ८२ वर्षीया आइतमाया राई पनि बेपत्ता छन् । बस्तीमाथिबाट खसेको पहिरो सिसुवा खोलामा पुगेको छ ।

पहिरो गएको स्थानमा आइतबार पनि वर्षा थामिएको छैन । उद्धारका लागि गएका मदन राईको मृत्यु भएको छ । दमका बिरामी रहेका उनको हृदयाघातले मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नजमाया, सन्दीप, भीमबहादुर, शिवधन, गोवासिंह र हर्कधन राईको घर बगाएको छ । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी टोली पुगेको डीएसपी मल्लले बताए । उद्धारका लागि पुगेको सुरक्षाकर्मीको टोलीले विस्थापित परिवारलाई चित्रे डाँडामा सारेको हो । विस्थापितहरू त्रिपाल टाँगेर बसेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७