राष्ट्रिय राजमार्ग ९८ ठाउँमा अवरुद्ध, आज जनाको मृत्यु


७ श्रावण २०७७, बुधबार
SBN Tanahu 6abdimarga

काठमाडौं, ७ साउन । बाढी र पहिरोमा परी मंगलबार देशका विभिन्न ठाउँमा आठ जनाको मृत्यु भएको छ । राष्ट्रिय राजमार्ग ९८ ठाउँमा अवरुद्ध भएको छ, विभिन्न जिल्लाका जलविद्युत् आयोजनाहरू पनि प्रभावित भएका छन् ।

पहिरोले घर पुरिँदा धादिङमा तीन, दार्चुलामा दुई र पूर्वी नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । महोत्तरीमा बाढीले एक जनालाई बगाएको छ ।

महोत्तरीको रातु खोलामा आएको बाढी बस्तीमा पसेपछि महोत्तरीका २३ परिवार पनि विस्थापित भएका छन् । धादिङमा ६ र पाल्पामा पाँच परिवार विस्थापित भएका छन् । पहिरोले घर पुरिँदा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बिहान करिब ३ बजेतिर आएको पहिराले घर पुरिएको थियो । घरमा सुतिरहेका मिलन खाण, उनकी पत्नी सम्झना र छोरी डेढ वर्र्षीया अञ्जिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका डिएसपी रूपक खड्काले बताए । पहिरो गएको खबर पाएपछि स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए । उनीहरूले मंगलबार बिहान पुरिएको अवस्थामा तीनै जनाको शव भेटेको प्रहरीले जनाएको छ ।

पहिरोले नीलकण्ठ नगरपालिका– १२ धन्सारपाखामा रहेको हरिबहादुर तामाङको घर बगाएको छ भने ६ घर जोखिममा परेका छन् । उनी पहिरोको डरले भूकम्पपछि रुवीभ्याली गाउँपालिका–१ तिप्लिङ गाउँ छोडेर धन्सारपाखामा बसाइँ सरेका थिए ।

त्यस्तै, गल्छी गाउँपालिका–४ कार्कीडाँडामा चे घलेको घर पहिरोले पुरिएको छ । उनको पाँच जनाको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेको छ । उनका छिमेकी प्रेम तामाङको घर पनि उच्च जोखिममा परेको छ ।

दार्चुलामा पहिरोले दाइभाइको मृत्यु
पहिरोले घर पुरिँदा दार्चुलाको मालिकार्जुन गाउँपालिका– ८ शंकरपुरमा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मंगलबार बिहान आएको पहिरोले ३५ वर्षीया लक्ष्मी दमाईंको घर पुरिएको हो । घर पुरिँदा दिदीको घर आएका लेकम गाउँपालिका– ५ का २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पदमबहादुर विष्टले बताए । उनीहरू केही दिनअघि मात्रै दिदीको घरमा आएका थिए ।

पहिरोले पुरिएर लक्ष्मीसँगै उनकी छोरी १४ वर्षीया सोनिया र छोरा नौ वर्षीय शुभम घाइते भएका छन् । लक्ष्मी र सोनिया गम्भीर घाइते भएका छन् । पहिरो गएको थाहा पाएपछि स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए । तीन जनालाई जीवितै उद्धार गरे पनि दुई जनाको भने शव भेटिएको हो ।

नवलपरासीमा पहिरोले दम्पतीको मृत्यु
पहिरोले घर पुरिँदा पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका– २ डाँडाझेरीमा दम्पतीको मृत्यु भएको छ । मंगलबार बिहान ३ बजे खसेको पहिरोले पुरिँदा ६१ वर्षीय शेरबहादुर सार्की र उनकी पत्नी ५७ वर्षीया खिलमाया नेपालीको मृत्यु हो ।

उनीहरू घरसँगै पुरिएका थिए । पहिरो गएको खबर पाएपछि उद्धारमा जुटेका स्थानीय बासिन्दाले मंगलबार बिहान दुवैको शव भेटेको बुलिङटार प्रहरी चौकीले जनाएको छ । मंगलबार नारायणी नदीमा यस वर्षकै ठूलो बाढी आएको छ । नवलपरासीको त्रिवेणी गण्डक ब्यारेजमा गरिएको जलमापनमा मंगलबार साँझ पानीको बहाव चार लाख ३० हजार क्युसेक पुगेको छ ।

पानीको सतह अत्यधिक बढेपछि गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय, नवलपुरका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । गण्डकमा पानीको बहाव तीन लाख क्युसेक नाघेपछि खतरा मानिन्छ ।

नारायणीमा बाढी आएपछि तटीय क्षेत्रका बस्ती डुबान र कटानमा परेका छन् । नदीसँग जोडिएको विनयी त्रिवेणी गाउँपालिका– ६ र ७ को ठटिया खोलामा निर्माणाधीन अवस्थामा रहेको बाँध फुट्ने खतरा बढेको स्थानीय प्रेमचन्द्र गुप्ताले बताए । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले बोरामा माटो र बालुवा हालेर जोगाउन प्रयास गरिरहेका छन् ।

त्यस्तै, सुस्ता गाउँपालिका–४ नर्सही ‘बी’ ग्याप ठोकर नम्बर ६, ९, १० र ११ तथा सुस्ता–५ को नेपाल बाँधको ठोकर नम्बर ३ र ४ मा पानीको बहाव अत्यधिक बढेपछि फुट्ने खतरा रहेको छ । बाँध भत्किने खतरा रहेकाले रामनगर, पक्लिहवा, सक्कर दिनहीलगायत गाउँ डुबानमा पर्न सक्ने खतरा भूआर्जन सम्पर्क कार्यालय, वाल्मीकिनगरका अधिकृत तारासिंह थापाले बताए ।

यस्तै, पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकास्थित चोरमारा चौरंगी नजिक पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महोत्तरीमा बाढीले बगाउँदा युवक बेपत्ता

रातु नदीमा आएको बाढीले बगाएर महोत्तरीको भंगहा नगरपालिका–६ संग्रामपुरका ३५ वर्र्षीय वीरेन्द्र कापर बेपत्ता भएका छन् । भंगहा नगरपालिका–१ कविलासा पछियारीस्थित भगवतीपुरनजिक मंगलबार बिहान साइकलसहित नदी तर्न खोज्दा बगेका हुन् ।

स्थानीय बासिन्दाका अनुसार मंगलबार बिहान साइकल घाँटीमा अड्काएर नदी तर्न खोजेका थिए । नदीको बीचभागमा नपुग्दै बाढीले बगाएको प्रत्यक्षदर्शीले बताए । उनी बग्नेबित्तिकै स्थानीय बासिन्दाले उद्धारका लागि प्रयास गरे पनि सफल नभएको स्थानीय सुजितकुमार मण्डलले बताए । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।

सिद्धार्थ राजमार्गमा पहिरो, एकतर्फी सञ्चालन
पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो गएको छ । पहिरो पन्छ्याएर मंगलबार अपराह्नबाट राजमार्ग एकतर्फी रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन दिनदेखिको वर्षाले सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालिमाटी, गौडेपुललगायत १० ठाउँमा पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले बताए । पहिरो पन्छ्याएपछि तानसेन–तम्घास सडक पनि सञ्चालनमा आएको उनले बताए ।

त्यस्तै, बन्दीपुर–४ विमलनगर र चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटारमा ठूलो पहिरो खसेको छ । पहिरोले जोखिममा परेका पाँच परिवारलाई मंगलबार नै सुरक्षित स्थानमा सारिएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्री अधिकारीले बताए ।

रौतहटमा २३ परिवार विस्थापित
झाँझ खोलामा आएको बाढी बस्तीमा पसेपछि रौतहटको गरुडा नगरपालिका–५ शिवनगरका २३ परिवार विस्थापित भएका छन् । घर डुबानमा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

खोलामा आएको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठले बताए । उनका अनुसार डुबानमा परेका २३ परिवारलाई शिवनगर इलाका प्रहरी कार्यालयको टोलीले सुरक्षित स्थानमा सारेको छ । केही परिवार आफन्तको घरमा पनि बसेको उनले बताए ।

भोटेकोसी मुहानको ताल फुट्ने खतरा टर्‍यो
भोटेकोसीको मुहान रहेको तिब्बतको न्यालम काउन्टीस्थित छोक्साङमा रहेको चाङ्ता बोक ताल फुट्ने खतरा टरेकोे छ । पानीको सतह घटेकाले जोखिम टरेको खबर आएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

केही दिनदेखि परेको पानीले सोमबार बिहानसम्म चाङ्ता बोक ताल भरिन लागेको खबर आएको थियो । न्यालमा पानी पर्न रोकिएसँगै तालको पानी पनि घटेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । उनका अनुसार मंगलबारसम्म एक सय २० सेन्टिमिटर घटेको छ । यो ताल पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । भोटेकोसी नदीको ६० प्रतिशत पानी यही तालबाट आउँछ ।

०७२ को भूकम्पपछि तालनजिकका भूभाग फाटेकाले मूल थुनिएर एकैपटक बग्दा भोटेकोसीमा आएको बाढीले मितेरीपुल, लिपिङ, कोदारीका अधिकांश घर बगाएको थियो । त्यसैले यसपटक सतर्कता अपनाउन चिनियाँ अधिकारीले सूचना दिएका थिए । चीनको खासा भन्सारको पुलसम्म पानीको सतह आउन सक्ने पूर्वानुमान गरेर जाङ्मु प्रशासनले भन्सारमा रहेका ठूला मेसिन र गाडीहरू सुरक्षित स्थानमा सारिसकेको छ ।

चिनियाँ अधिकारीले दिएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले पनि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सचेत गराएको थियो । सोमबार प्रशासनले जारी गरेको सूचनाका आधारमा लिपिङदेखि बाह्रबिसेसम्मका तटीय क्षेत्रका बासिन्दाले सोमबार राति घर छाडेका थिए ।

न्यालम काउन्टीको विदेश विभागका अधिकारीसँग टेलिफोनमा कुराकानी गरेको उल्लेख गर्दै नेकपा भोटेकोसीका अध्यक्ष आङछिरी शेर्पाले अहिले पानीको सतह घटेकाले खतरा टरेको बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७