क्वारेन्टिनमा गार्ड बसेका युवकले मट्टितेल खन्याएर आफ्नो जीउमा लगाए आगो


२० श्रावण २०७७, मंगलवार
agalagi fireing आगालागी 234545

रौतहट, २० साउन । रूपन्देहीको देवदहस्थित क्वारेन्टिनमा गार्ड बसेका एक युवकले मट्टितेल खन्याएर आफ्नै जिउमा आगो लगाएका छन् ।

देवदह नगरपालिका–७, शीतलनगरस्थित नेपाल मगर संघको नगर भवनस्थित क्वारेन्टिनमा गार्ड बसेका २४ वर्षीय विपिन बस्यालले मंगलबार विहान साढे ३ बजेतिर शरीरमा मट्टितेल खन्याएर आफैले आगो लगाएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिए ।

‘मलाई बिहान ३ बजेर २७ मिनेट जाँदा फोन आएको थियो, क्वारेन्टिन बाहिर आगो लगाएर एक जना मान्छे मरिसक्यो भन्ने खबर आयो,’ उनले भने, ‘त्यही भएर मैले पहिले प्रहरी, नगर प्रमुखलाई खबर गरें, तर मानिस मरिसकेको होइन रहेछ, अवस्था अत्यन्त नाजुक भइसकेको पाइयो, शरीर धेरै जलेको छ ।’

वडाध्यक्ष थापाका अनुसार उनलाई हतारहतार देवदह मेडिकल कलेज लगिएको छ । ‘तर त्यहाँबाट पाल्पा लाने कुरा भएको थियो, त्यसपछिको जानकारी मैले पाउन सकेको छैन,’ उनले सुनाए ।
वडाध्यक्ष थापाका अनुसार क्वारेन्टिन स्थल सफा गर्न राखिएको मट्टितेल जीउमा खन्याएर ती युवकले आगो लगाएका हुन् । आगो लगाउनुको कारण के हो खुल्न सकेको छैन ।

‘ती युवक मेडिकल पढ्दै गरेका हुन्, मानसिक समस्या पनि छ भन्ने सुनियो, वास्तविकता खुल्न बाँकी छ,’ उनले भने । वडाध्यक्ष थापाका अनुसार त्यस क्वारेन्टिनमा दुई जनालाई गार्ड तोकिएको छ । दिउँसो र राति पालैपालो गरेर बस्ने गरेका छन् । आगो लगाउने ती युवकको हिजो राति पालो परेको थियो ।

त्यस क्वारेन्टिनमा देवदह वडा नम्बर ६, ७ र ८ का मानिसलाई राखिएको छ । जहाँ १५ पुरुष र २ महिला छन् । भारतबाट आएकालाई पनि सँगै राखिएको भन्ने कुरामा राति विवाद भएको पनि पाइएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७