अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ट्रम्पद्वारा ६ हप्ताको समयावधि


२० श्रावण २०७७, मंगलवार
1ce0ea316ec872ce91cda0d52010a16f w1000 h500 cp

वासिङ्टन, २० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न ६ हप्ताको समयावधि दिएका छन् ।

राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरे लगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने प्रक्रियामा रहेका छन् ।

ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षाको विषय उठाउँदै टिकटक एप्स अमेरिकी कम्पनीमार्फत अमेरिकामा डाउनलोड गर्न र हेर्न पाइने व्यवस्था गर्न लागेको हो ।

राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीमार्फत मात्र अमेरिकामा प्रवेश गर्न दिइने बताउँदै यस्तो कदम अमेरिकाको सुरक्षाका निम्ति चाल्नु परेको स्पष्ट गरे ।

ट्रम्पले टिकटक खरिद गर्न माइक्रोसफ्टले वार्ता गरिरहेको बताए । टिकटकका अहिले विश्वभर एक अर्ब प्रयोगकर्ता रहेका छन् । खासगरी युवाबीच निकै लोकप्रिय टिकटकबाट ६० सेकेन्डका भिडियोहरु बनाएर पोस्ट गर्न सकिन्छ ।

तर अमेरिकी अधिकारीहरुले लाखौं अमेरिकीका निजी गोपनीय विवरणहरुलाई चिनियाँ गुप्तचर निकायहरुले चीन लैजाने खतरा रहेको दाबी गर्दै आइरहेका छन् ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई आगामी सेप्टेम्बर मध्यसम्ममा सम्झौता गरिसक्न अमेरिकी प्रशासनले म्याद दिएको छ ।

राष्ट्रपति ट्रम्पले भने, ‘मैले सेप्टेम्बर १५ सम्मको म्याद दिएको छु, त्यस समयभित्र कुनै सम्झौता नभए टिकटक संयुक्त राज्य अमेरिकामा बन्द हुन्छ ।’ एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७